कांग्रेसका युवाहरुको खुकुरी हानाहान, वडाध्यक्षसमेत रहेका तरुणका क्षेत्रिय सभापतिसहित ५ जना घाइते

काठमाडौँ– लमजुङमा सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका कार्यकर्ताहरुको झडप हुँदा खुकुरी हानाहान भएको छ। जिल्ला अधिवेशनमा विवाद भएपछि सुरु भएको खुकुरी हानाहानमा ५ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय लमजुङका इन्स्पेक्टर राजकिशोर साहका अनुसार खुकुरी प्रहारबाट बेँसीसहर नगरपालिका–९ का वडाध्यक्षसमेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजङ्ग बस्नेत, कांग्रेस निकट नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारी, तरुण दलका सदस्य धन घले लगायत घाइते भएका हुन्।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। उनीहरुको चितवनको भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। घाइतेमध्ये खुसीजङ्ग र सुदीपको टाउकोमा गहिरो चोट लागेकाले उपचारका लागि राति नै चितवन मेडिकल कलेज भरतपुर लगिएको प्रहरीले जनाएको छ। तीनजना उपचारपछि डिस्चार्ज भइसकेका छन्।

शनिबार सदरमुकाम बेँसीसहरमा भएको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन सत्र सकिएपछि दुई समूहबीच प्रतिनिधि छनोटको विषयमा विवाद भएको थियो। त्यसैक्रममा दुई समूहबीच बाहिर सडकमा खुकुरी हानाहान भएको इन्सपेक्टर साहले बताए।

अधिवेशनमा तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङ, गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङ, वनमन्त्री भेषबहादुर पौडेलसमेत सहभागी थिए। प्रहरीले कसैलाई पक्राउ गरेको छैन।

घट्नापछि अधिवेशनको बाँकी प्रक्रिया रोकिएको छ। लमजुङ कांग्रेसमा नेता डा.टकराज गुरुङ र भेषबहादुर पौडेलबीच तीव्र विवाद छ। पौडेल हाल गण्डकी प्रदेशको वनमन्त्री छन् भने गुरुङ अर्थमन्त्री छन्। पौडेल कांग्रेसको निवर्तमान पार्टी सभापति हुने भने गुरुङ वर्तमा पार्टी सभापति हुन्।

घाइते हुने वडाध्यक्ष भेषबहादुर पक्षका हुन्। खुकुरी हान्ने व्यक्ति गुरुङ पक्षका भएको भेषबहादुर पक्षको आरोप छ। खुकुरी प्रहारबाट घाइते हुने खुसीजंग तरुण दलको जिल्ला अध्यक्षको आकांक्षी थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट