२२५ किलोको अजङ्गको फलामे गेटले च्यापेर सानो जीवनको अन्त्यः बुवाको आगमनपछि समर्थको दाहसंस्कार

फत्तेपुर (सप्तरी)– विहिबार साँझ (२६ असार) फलामे गेटले थिचेर मृत्यु भएका सप्तरीको सप्तकोशी नगरपालिका–१, खोरियाटोलका ४ वर्षीय बालक समर्थ कट्वाल (समर्थजङ कट्वाल) को आज दाहसंस्कार गरिएका छ।
रोजगारीका क्रममा कोरियामा रहेका उनका बुबा सञ्जिव कट्वाल घर फर्किएपछि बालकको दाहसंस्कार गरिएको हो।
स्थानीयका अनुसार त्यो साँझ अन्य दिनजस्तै सामान्य थियो। स्थानीय मदर मेमोरियल माद्यमिक विद्यालयको यूकेजीमा अध्ययनरत उनी परीक्षा सकेर फर्किएका थिए। विद्यालयबाट फर्केपछि आमा सिर्जनाले उनलाई स्कुटरमा राखेर घुमाउन लगिन। आमा–छोराले रमाईलो गरे।
त्यसपछि समर्थ ट्युसन गए। घर फर्किएपछि आमा स्कुटर पार्किङ गर्दैथिईन। समर्थ दाई सार्थक (ठुलोबुबाको छोरा) सँग खेल्न थाले। घरमा हालसालै कम्पाउण्ड वाल लगाईएको थियो। सँगै बडेमान (स्थानीयका अनुसार २२५ किलो) को फलामे गेट पनि। दाजु भाई मिलेर गेट तानातान गर्दै खेल्दै थिए। यही खेल कहिल्यै नटुंगिने पीडामा अन्त्य भयो।
तानातान गर्ने क्रममा गेट लक (गेट अड्काउन बनाएको केही रोकावट) नाघेर अगाडि गयो र लड्यो। २२५ किलोको फलामे गेट एक्कासी ढलेर सानो बालक समर्थलाई किच्यो। त्यसपछि सुरु भयो चिच्याहट, छटपटी, र एक हतारो…
हजुरबुबाको आँखैअगाडि बालक गेटमुनि थिचिए। तर ती वृद्ध हातले त्यो फलाम उठाउन सक्ने अवस्थै थिएन। छेउमा घर बनाउँदै गरेका मजदुरहरूले आएर गेट ताने—तर धेरै ढिलो भइसकेको थियो।
रगतले लतपतिएको, चेतनाशून्य शरीर लिएर परिवारका सदस्य अस्पतालतिर दौडिए। स्थानीय अस्पतालमा प्राथमिक उपचार भयो, तर अवस्था गम्भीर भएकाले तत्काल विराटनगर पठाउने निर्णय गरियो। तर बाटोमै समर्थले यो संसार छोडे।
खबर सुनेपछि बुवा कोरियाबाट दौडिए। तर, शव हेरेर विलौना गर्नु बाहेक उनको हातमा पनि केही थिएन। एक बाबुले हातमा लिएको त्यो शवमा अब बाँच्नुपर्ने भविष्य थिएन, बाँकी थियो त केवल जिन्दगी भरीको पीडा। त्यसपछि उनकै सहमतिमा आज बालकको दाहसंस्कार गरियो।
समर्थको मृत्युसँगै एउटी आमाले छोरा गुमाइन्, एक बुवाले विदेशबाट फर्केर शव अंगाल्नुपर्यो, अनि एक समाजले बाल सुरक्षाको बेवास्ता फेरि महसुस गयो—तर त्यो महसुस अझै पनि ढिलो हुने त होइन?
समर्थ अब छैनन्। उनको हाँसो, उनका पाइला, उनका झिनामसिना जिज्ञासाहरू…, सबै उसैसँग विलाए। विद्यालयमा सहपाठीका लागि उनी खेल्ने साथी थिए, विद्यालयका शिक्षकका लागि चञ्चल आँखाले प्रश्न सोध्ने बालक। तर अब त्यो कक्षा रित्तो जस्तै छ, उनी वस्ने मेचमा अव अन्य बालकको आँखा टोलाउने छन्। तर, उनीहरुको साथी रहने छैन।
विद्यालयले शोक प्रकट गर्दै आइतबार विद्यालय बन्द गर्ने निर्णय गरेको छ।