प्रधानमन्त्रीसँगै स्पेन गएका १० नेपाली ‘हराए’: सांसद सोविता गौतमको प्रश्नले खोल्यो मानव तस्करीको शंका

राजधानी– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले गत मंगलबारको प्रतिनिधि सभा वैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँगै स्पेन भ्रमणमा गएकामध्ये केही नेपाली स्वदेश नफर्किएको गम्भिर आक्षेप लगाईन।
उनले विषयलाई अत्यन्त गम्भीर बताउँदै संसदमा तत्काल छानबिनको माग गरिन। उनले भनिन्, ‘स्वयं प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत सहभागी हुने बाहानामा गएर नफर्किएको भन्ने समाचारहरू आइरहेका छन्।’
उनले यसमा कसैप्रति व्यक्तिगत आरोप नभएको प्रस्ट्याउँदै भनिन्, ‘तर यो विषय हाम्रो मुलुकको साखसँग जोडिएको अत्यन्त संवेदनशील र गम्भीर प्रकरण हो।’ गौतमले सरकारको हालको प्रतिकृया र छानबिन प्रक्रियाप्रति कडा आलोचना गर्दै भनिन्, ‘सरकारले यस्तो गम्भीर विषयमा पनि स्वार्थ बाझिने र अनउपयुक्त पात्रको नेतृत्वमा, आफू मातहतकै कनिष्ठ कर्मचारीहरू सम्मिलित टालटुले प्रशासनिक समिति बनाएकोमा हाम्रो गहिरो खेद र आपत्ति छ।’
उनले ‘सरकारले अविलम्ब उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्छ। हाम्रो हिजो पनि माग यही थियो, आज पनि हो—उच्चस्तरीय छानबिन आयोग जसरी पनि बन्नुपर्छ’ भन्दै माग गरिन। उनले संसदभित्रै उठाएको यो प्रसंगले प्रधानमन्त्रीकै भ्रमणको आवरणमा नेपाली नागरिक स्पेन र युरोपका विभिन्न मुलुक पुगेको खुलासा भएको छ।
कतिपयले फर्किन नमान्दा र कतिपयले नक्कली कागजात प्रयोग गरेको प्रमाण भेटिँदा, मानव तस्करीको आशंका थप बलियो बनेको छ। सरकार र सम्बन्धित निकायको मौनता र बेपरवाहीबारे सार्वजनिक चासो बढिरहेका बेला सांसद गौतमको यस धारणालाई गम्भीर रूपमा लिनुपर्ने समय आएको स्पष्ट देखिन्छ।
स्पेनमा प्रधानमन्त्री सहभागी भएको ‘संयुक्त राष्ट्रसंघको विकासका लागि वित्तसम्बन्धी सम्मेलन’ (Conference on Financing for Development of United Nations) मा सहभागी भएर विदेश पुगेका १० जना नेपाली हराएको आरोप छ।
गौतमको यो आरोपपछि एमाले सांसद महेश बर्तौलाले प्रतिवाद गर्दै सबै नेपाली फर्किएको दाबी गरे। परराष्ट्र मन्त्रालयले समेत प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको टोलीसँग स्पेन गएका सबै नेपाली फर्किसकेकोका दाबी ग¥यो।
प्रधानमन्त्री ओली असार १४ गते स्पेनको सेभिया शहरमा भएको सम्मेलनमा सहभागी हुन गएका थिए। स्रोतले दिएको जानकारी अनुसार त्यही कार्यक्रममा सहभागी भनी स्पेन पुगेका १० जना नेपाली हराएका छन्। उनीहरूमध्ये कतिपय अहिले स्पेनमै छन् भने केही अन्य युरोपेली मुलुकमा पुगेका छन्।
तेह्रथुमका फुर्वा र जीवन, काभ्रेका राजेश, झापाका एटराज र प्रणियता, ताप्लेजुङका डण्डु, चितवनका अर्जुन, म्याग्दीका रबिन र पर्वतका हरिप्रसाद हालसम्म स्पेनमै रहेको स्रोत बताउँछ। ताप्लेजुङकी शिक्षाले सम्मेलनमा सहभागी भई त्यसपछि जर्मनीको ह्यामबर्ग पुगेको फेसबुकमार्फत सार्वजनिक गरेकी छन्। उनले झापामा बुटिक चलाउने गरेको थिइन्।
यो समूह स्पेन पुगेको तर फर्किन नसकेको मात्र होइन, उनीहरूको भिसा प्रक्रिया र सम्मेलनमा सहभागिताको आधार नै शंकास्पद देखिएको छ। दिल्लीस्थित स्पेन दूतावासले दिएको जानकारी अनुसार, तीमध्ये अधिकांशले युएन सम्मेलनको नाममा भिसा मागेका थिए, तर सम्मेलनबारे कुनै स्पष्ट जानकारी उनीहरूसँग थिएन।
उनीहरूले दिएको सिफारिसपत्रहरू नक्कली थिए र सम्मेलनको आमन्त्रण पत्र पनि युएनबाट आधिकारिक रूपमा पुष्टि हुन सकेन। दूतावासले यसरी नक्कली कागज देखाएर भिसा आवेदन दिएका धेरैलाई रोक्ने प्रयास ग¥यो।
त्यसै क्रममा १४ गतेकै राती ५५ जना नेपाली यात्रु युरोप जान लागेको सूचना पाएपछि दूतावासले उनीहरूको भिसा रद्द ग¥यो। बोर्डिङ पास दिनुअघि नै विभिन्न विमान कम्पनीहरूले उनीहरूलाई रोकिदिए। यसै दिन बिहान, दिल्ली विमानस्थलबाट कतार एयरवेज चढ्न खोजिरहेका थप ९ जना नेपालीलाई पनि कागजात शंकास्पद भएकाले विमान चढ्न दिइएन।
यो घटनाले गैरसरकारी संस्थाहरू मानव तस्करीको नयाँ शैलीमा संलग्न रहेको आशंका थप प्रष्ट हुँदै गएको छ। दिल्लीस्थित दूतावासले बोर्डिङ अनुमति दिनुअघि समन्वय गर्न एयरलाइन्सलाई निर्देशन दिएको भए पनि कतिपय समूह त्यस निगरानीबाट उम्किएर स्पेन पुगेका छन्। यतिबेला ती नेपाली युरोपमै छन्, तर सरकार भने उनीहरू सबै फर्किएको दाबी गरिरहेको छ।