दर्ताविनै सञ्चालित मुस्कान अस्पतालको लापरवाहीले खोस्यो २५ वर्षीया पविताको ज्यान

जनकपुर — जनकपुरमा दर्ता विनै सञ्चालनमा रहेको मुस्कान अस्पतालमा पित्तथैलीको शल्यक्रियापछि साढे चार महिनासम्म बेहोस अवस्थामा जीवन र मृत्युसँग संघर्ष गरेकी २५ वर्षीया पविता यादवको मृत्यु भएको छ।
सर्लाहीको हरिपुर्वा नगरपालिका–५ की पविता यादवको काठमाडौँको केएमसी अस्पतालमा आज बिहान ७ बजे मृत्यु भएको हो। ३ माघमा जनकपुरधाम–१४, पिडारीचोकमा रहेको मुस्कान अस्पतालमा उनको पित्त थैलीको शल्यक्रिया गरिएको थियो।
शल्यक्रियापछि उनको होस फर्किएको थिएन। तीनदिनसम्म होस नआएपछि डा.साहले स्नायुको समस्या भन्दै सिटीस्क्यान गराउन सल्लाह दिएका थिए। सिटी स्क्यान गराएर रिपोर्ट देखाउँदा ‘यस सम्बन्धी डाक्टर हाम्रोमा छैन, अर्को अस्पताल लानोस’ भनेपछि पवितालाई ६ माघमा जनकपुरको जानकी हेलल्थकेयरमा लगिएको थियो।
त्यहाँ करिव १०/१२ दिन उपचार गराउँदा सुधार नभएपछि करिव साढे ३ महिनाअघि उनलाई काठमाडौँ लगिएको थियो। पविताका पति अंगेशका अनुसार अवस्था जटिल बन्दै गएपछि २९ माघमा उनलाई काठमाडौँको केएमसी अस्पताल लगिएको थियो।
भेन्टिलेटरमा राखेर उपचार गरिरहेका वेला पविताको आज बिहान मृत्यु भएको हो। पविताको परिवार आर्थिक रूपमा कमजोर छ। उपचार खर्च धान्न नसक्ने भएपछि उनका पति अंगेश यादव एक महिनाअघि पवितालाई अस्पतालमै छोडेर घर फर्किएका थिए। त्यतिबेला देखिनै अस्पतालले बारम्बार उनलाई फोन गरेर बोलाएको थियो।
अन्ततः अस्पतालले प्रहरी मार्फत समन्वय गरी परिवारलाई खबर गरेपछि मात्रै आज बिहान मृत्युको जानकारी अंगेशलाई दिइएको हो। तर, पविताको शव लिन जाने अवस्था समेत आफनो नभएको उनले वताए। ‘मसँग काठमाडौँ जाने गाडी भाडा पनि छैन। अस्पतालको अहिलेसम्मको लाखौं उपचार खर्च कसरी तिर्ने ? शव कसरी ल्याउने ?’ उनले भने। अंगेशका अनुसार केएमसीमा उपचारमा लागेको खर्च, फार्मेसी, खानेकुरा लगायत सबै पैसा तिर्न बाँकी छ।
पविता मृत्युअघि चार महिनासम्म भेन्टिलेटरमा थिइन, तर उनी यो अवस्थामा कसरी पुगिन भन्ने विषय अझै स्पष्ट छैन। उनका बुबा ब्रह्मदेव यादवका अनुसार, पवितालाई सरकारी हेल्थ असिस्टेन्ट कमल राइनले शल्यक्रियाका लागि मुस्कान अस्पतालमा पु¥याएका थिए। शल्यक्रिया डा. ज्ञानकुमार साहले गरेका थिए।
पविताको अवस्था सार्वजनिक भएपछि २३ माघमा मधेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंहले अस्पतालमा अनुगमन गरेका थिए। अनुगमनका क्रममा अस्पताल अनुमति विनानै सञ्चालनमा रहेको पाइएको थियो। त्यसपछि अस्पताललाई तत्काल बन्द गराइएको थियो। मुख्यमन्त्रीले पविताको उपचार खर्च मुस्कान अस्पतालका सञ्चालकले बेहोर्न निर्देशन दिए पनि थिएका थिए।
तर, अस्पतालले हालसम्म एक लाख रुपैयाँ तिरेको छ। त्यसपछि सञ्चालक सम्पर्कविहिन छन्। गत १ जेठमा पविताका बुबाले जिल्ला प्रहरी कार्यालय धनुषामा अस्पताल सञ्चालक, सर्जन डा. साह, एनेसथेसिया चिकित्सक, प्रहरीमा पुगेको जाहेरीमा शल्यक्रिया गर्ने डा., एनेसथेसियाको भूमिकामा निर्वाह गर्ने चिकित्सकर शल्यक्रियाका लागि सल्लाह दिने सूर्या अल्ट्रासाउण्डका सञ्चालक सुशील यादवलगायत ५ जनाविरुद्ध जाहेरी दिएका थिए। तर अझैसम्म कुनै ठोस कारबाही भएको छैन।