सिंहदरबारमा तीन दलका नेताको भेटः प्रचण्डलाई फकाउन कुर्सी कूटनीति, सध्रेला सम्बन्ध ?

काठमाडौं — पछिल्ला दिनमा चिसिएको सत्ता गठवन्धन र प्रतिपक्षिको सम्वन्धलाई न्यानो पार्न सिंहदरबारमा सोमबार तीन प्रमुख दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा सम्पन्न बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन्। अन्य नेताहरुको पनि छलफलमा सहभागिता देखिएको छ।
आजको भेटवार्तामा एउटा विशेष परिवर्तन देखिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित बैठकमा देउवा र दाहालका लागि एउटै प्रकारका ‘विशेष कुर्सी’को व्यवस्था गरिएको छ, जसले राजनीतिमा निकै अर्थपूर्ण संकेत गरेको विश्लेषकहरु बताउँछन्। प्रधानमन्त्री ओली भने सधैंझैं बीचमा तुलनात्मक रूपमा बढी उठेको र थप विशेष कुर्सीमा छन्।
पछिल्ला दिनहरूमा प्रतिपक्षी माओवादीका अध्यक्ष दाहाल र रास्वपा असन्तुष्ट देखिएका थिए। सत्ता साझेदारी, बजेटको प्राथमिकता र संसद् संचालनजस्ता विषयमा माओवादी केन्द्रले असहमति जनाउँदै आएको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजिनामा मागेर माओवादीले त्यसको प्रतिक्रिया जनाईरहेको छ। माओवादी र रास्वपाका सांसदहरले गृहमन्त्री लेखकको राजिनामा मागेर संसद अवरोध गरिरहेका छन्।
यही असहजतालाई न्यूनीकरण गर्न ओली र देउवाले संयुक्त रूपमा प्रचण्डलाई ‘सम्मान’ दिएको हुन सक्ने विश्लेषकहरूले बताएका छन्। उनीहरुले यसलाई ‘कुर्सी कूटनीति’को संज्ञा दिएका छन। छलफलमा संसद् अवरोध, भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता, बजेट, नीति तथा कार्यक्रम र संवैधानिक नियुक्तिजस्ता विषयमा छलफल हुन सक्ने जनाईएको छ।
यो छलफलले राजनीतिको असहजतालाई अन्त्य गर्न सक्ने अनुमान गरिएको छ।