इन्धनको कुपन विवादले उब्जायो संकट, सिमराकी डीएसपी शुभद्रा वाइवाको जिम्मेवारी ५ महिनामै खोसियो

जनकपुर– बाराको इलाका प्रहरी कार्यालय, सिमरामा पाँच महिनाअघि मात्र खटिएकी डीएसपी शुभद्रा वाइवाको जिम्मेवारी एकाएक खोसिएको छ।

सहसचिवस्तरका जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँगको इन्धन कुपन विवादले जटिल मोड लिएपछि प्रहरी प्रधान कार्यालयले छानबिनका लागि उनको जिम्मेवारी खोसेर हेडक्वाटर बोलाएको हो।

डीएसपी वाइवा गत पुस महिनामा सिमरा आएकी थिईन। यस बीचमा उनको प्रशासकीय अधिकृत शान्तिराज प्रसाईँसँग विवाद भएको थियो। प्रसाईँले उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय बारामा लिखित उजुरी दिएका थिए।

यो विषय सीडीओ कार्यालय हुँदै प्रहरी प्रधान कार्यालय पुगेपछि सोही उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको र छानबिन प्रक्रिया नसकिएसम्म उनलाई जिम्मेवारीबाट मुक्त गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले जानकारी दिए। सिमरामा डीएसपी वेद जोशीलाई पठाईएको छ।

स्रोतका अनुसार सिमरामा खटिएका सुरक्षाकर्मीको सवारीसाधनका लागि उपमहानगरपालिकाबाट प्रहरीले पेट्रोल लिँदै आएको थियो। उपमहानगरले यसअघि सरदर महिनामा १ सय लिटर डिजल उपलब्ध गराउँदै आएको थियो।

तर, डीएसपी वाइवाले वैशाख १० र ३१ गते सय–सय लिटरका दरले इन्धन कुपन लिएकी थिइन। १८ जेठमा उनी पुनः इन्धनका लागि उपमहानगर पुगिन। प्रशासकीय अधिकृत प्रसाईँले २० लिटर डिजल र १० लिटर पेट्रोलको कुपन दिए। इन्धन थोरै दिएको झोंकमा असन्तुष्टि जनाउँदै वाइवाले प्रसाईँकै अगाडि नै उक्त कुपन च्यातिदिएकी थिइन।

यही घटना चर्किँदै गएपछि उनलाई छानविनमा तानिएको जनाईएको छ। वाइवा समुदायबीच भने अनुशासित र निर्भीक प्रहरीको रूपमा चर्चामा थिइन। जेठ पहिलो साता, शान्ति टोलमा आयोजित व्यापार तथा सांस्कृतिक महोत्सवमा समयसीमा नाघी कार्यक्रम जारी राखेको पाइएपछि उनी आफैँ स्टेजमा पुगेर साउण्ड सिस्टम बन्द गरेकी थिइन।

प्रशासनले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मात्र कार्यक्रम सञ्चालनको अनुमति दिएपनि समयसीमा नाघेर राति ९ बजेसम्म पनि आयोजकले टिकट विक्रि खुल्ला राखेपछि उनी आफैं स्टेजमा पुगेर कलाकारको हातबाट माइक खोसेकी थिईन। यसरी जनप्रिय वन्दै गएकी डीएसपी वाईबालाई छानविनको दायरामा ल्याईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट