नाम मिल्यो– जीवन बिग्रियोः ‘रोशन’ नाम भएकै कारण डाका मुद्दा

लहान– सिरहाको विष्णुपुर गाउँपालिका–३, कौवाहाका ३२ वर्षीय रोशनकुमार यादव विगत ४ महिनादेखि निरन्तर अदालत धाइरहेका छन। विदेश जानका लागि प्रहरी रिपोर्ट लिन गएका उनी उल्टै डाँका मुद्दाको प्रतिवादी बनेर फर्किएपछि उनको अदालत आउजाउले निरन्तरता पाएको हो।

घटना भएको छैन, संलग्नता पनि छैन। तर, प्रहरीले उनको नाममा डाका मुद्दा दर्ता गरेको छ। विदेश जाने प्रकृयाका लागि सिफारिस लिँन जाँदा रोशनले यो कुरा थाहा पाए। ‘त्यो दिन म सामान्य प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय पुगेको थिएँ। एक्कासि मलाई डाँका मुद्दाको फाइल देखाइयो’ उनी भन्छन्–‘मुद्दाका आरोपित मध्ये एकजना मेरै नामको रहेछ। ८ वर्ष विदेशमा बसेको मान्छे, कुनै अपराध गरेको छैन। मुद्दाको फाईल देखेर म त अवाक भएँ।’

रोशन ३ वर्ष कतार, ३ वर्ष साउदी र २ वर्ष मलेसिया बसेर फर्किएका हुन। अहिले चौथो पटक विदेश जाने तयारीमा रहेका उनी फौजदारी मुद्दा लागेपछि रोकिएका छन।

मुद्दाको फाईलमा उल्लेख भएन अनुसार घटनाको मिति २५ असोज २०८१। स्थान– सिरहा नगरपालिका–११ भलुवाही। रातको ११ बजे। झिझिया हेरेर फर्किरहेकी ४५ वर्षीया सुनितादेवी कामतीमाथि स४प ६४१५ नम्बरको मोटरसाइकलमा आएका दुई जनाले आक्रमण गरी गहना लुटेको उल्लेख छ।

जाहेरीमा उल्लेख गरिएका दुई व्यक्तिमध्ये एक जना रोशनकुमार यादव हुन। उनी विष्णुपुर गाउँपालिका–३ का बिताई यादवका छोरा हुन। उमेर २५ वर्ष। तर मुद्दा दर्ता भने अर्कै रोशनको नाममा भएको छ। मुद्दा दर्ता गरिएका रोशनकुमार यादवको उमेर ३२ वर्ष, बुबाको नाम जयनारायण यादव।

ठेगाना एउटै भएपनि आफनो उमेर र बाबुको नाम फरक हुँदा हुँदै कसरी मुद्दा दर्ता गर्दा आफनो नाम पारियो भन्ने उनले अहिले पनि बुझ्न सकेका छैनन। दोषी उम्काउन प्रहरीले चलखेल गरेर आफुलाई फसाउन खोजेको उनको आशंका छ।

मुद्दाको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसन्धान शाखा प्रमुख इन्स्पेक्टर दिपक सिंहले समेत गल्तीले मुद्दा दर्ता भएको स्वीकार गरिसकेको रोशनको भनाइ छ। ‘तपाईं तारेखमा आउनुहो, केही हुँदैन। सवै म मिलाउँछु भनेका थिए। तर आजसम्म मैले आफु निर्दोश भएको पुष्टि पाएको छैन।’– उनले भने।

आश्चर्यको कुरा त, जाहेरीकतौ सुनिता देवी र घटनामा संलग्न भनिएका अमरेश यादवले पनि प्रहरीसमक्ष गलत मान्छेको नाममा मुद्दा दर्ता भएको बयान दिएका छन। तर, रोशनको नाममा अदालतमा मुद्दा चलिरहेको छ। अदालतमा हाजिर भइरहे पनि मुद्दा कहिले टुंगिन्छ भन्ने अत्तोपत्तो छैन।

रोशनको घरको जिम्मेवारी उनकै काँधमा छ। वृद्ध बाबुआमा, मानसिक रोगी भाइ र सानो छोराको खर्च धान्न गाह्रो भइसकेको छ। उनी चौथोपटक विदेश जानका लागि अन्तिम तयारीमा थिए। माघको अन्तिम सातातिरको प्रहरी रिपोर्टले सबै योजना भताभुङ्ग बनाएको उनी बताउँछन्।

रोशनका हजुरबुबा जगदीशले प्रहरीले आफनो नातिलाई फराएको गुनासो गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी अनन्तराम शर्मा घटनाको विवरण आफूले नबुझिसकेको बताउँछन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट