काँकडभिट्टामा नोट छाप्दै गरेका युवक ५ लाखभन्दा बढी नक्कली नोट र मेसिनसहित पक्राउ

दमक — झापाको काँकडभिट्टा बजारमा कोठामै मेसिन राखेर नक्कली नोट छाप्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
तेह्रथुमको ओयाक्जुङ गाउँपालिका–५ स्थायी घर भई झापाको कन्काई नगरपालिका–८, लक्ष्मीपुरमा बस्दै आएका २८ वर्षीय गणेश भारतीलाई प्रहरीले पक्राउ गरेको हो। काँकडभिट्टास्थित नेपाल बैंक अगाडि शंकास्पद रूपमा हिँडिरहेका उनलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरीले जनाएको छ।
प्रारम्भिक जाँचमा भारतीको साथबाट १ हजार दरका एक लाख रुपैयाँ बराबरका नक्कली नोट फेला परेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो। शुक्रवार बिहान उनको डेरा तलासी गर्दा विभिन्न दरका गरेर पाँच लाखभन्दा बढी नक्कली नोट फेला परेको छ।
प्रहरीका अनुसार, बरामद नक्कली नोटमा १ हजार दरका ४ लाख ७० हजार, ५ सय दरका १ लाख ४१ हजार, १ सय दरका १९ हजार, ५० दरका ६ सय र २० दरका नोट ४ वटा रहेका छन।
त्यसैगरी प्रहरीले नोट छाप्न प्रयोग गरिने प्रिन्टर मेसिन र रङहरू समेत बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानमै ती नोट उनले आफैंले छापेको खुलेको प्रहरीको दाबी छ। उनलाई झापा जिल्ला अदालतमा उपस्थित गराई अनुशन्धानका लागि म्याद लिईएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाले घटनालाई गम्भीर आपराधिक गतिविधिसँग जोडेर हेरेको छ।