राजविराज नगरपालिकामा १० लाख राजश्व हिनामिनाको आशंका, शाखा प्रमुखमाथि हाकिमको दबाब

राजविराज — सप्तरीको राजविराज नगरपालिकामा स्थानीय स्रोतबाट संकलन भएको झन्डै १० लाख रुपैयाँ बराबरको राजश्व हिनामिना भएको (समयमै बैंकमा दाखिला नभएको) खुलासा भएको छ।
आन्तरिक स्रोतले दिएको जानकारी अनुसार राजश्व शाखा प्रमुख कल्पना देवसहित कर्मचारीको संलग्नतामा यो रकम बैंक दाखिला भएको छैन। नगरपालिकाले राजश्व हिनामिनालाई नियन्त्रण गर्न पछिल्ला वर्षहरूमा डिजिटल प्रणालीमार्फत राजश्व संकलन गर्दै आएको छ।
यसरी संकलन भएको रकम ‘आजको आजै’ सम्बन्धित बैंक खातामा दाखिला गर्नु पर्ने प्रावधान रहेको नगरपालिका स्रोत बताउँछ। तर, आर्थिक वर्ष २०८१/०८२ मा हटिया गुद्री वैठकी, मालपोत दस्तुर लगायतका शीर्षकमा उठेको रकममध्ये करिब १० लाख रुपैयाँ अहिलेसम्म पनि बैंक दाखिला भएको छैन।
यो विषय जानकारीमा आएपछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. श्रवणकुमार साहले वैशाखको अन्तिम साता राजश्व शाखा प्रमुख देवलाई पत्र काटेर तीन दिनभित्र बाँकी सम्पूर्ण राजश्व रकम बैंकमा दाखिला गर्न निर्देशन दिएका थिए। तर, उक्त निर्देशनको पालना नभएको नगरपालिकाले जनाएको छ।
स्रोतका अनुसार प्रशासकीय अधिकृत साहको पत्रमा लेखिएको छ, ‘निर्देशनको पालना नगरेमा प्रचलित कानुनबमोजिम असुल उपर गरी कारबाही प्रक्रिया अगाडि बढाइनेछ।’ साथै उनले आर्थिक प्रशासन शाखालाई बोधार्थ दिँदै बाँकी रहेको रकम यकिन गर्न र तोकिएको समयभित्र दाखिला नभएमा दोषी कर्मचारीहरूको तलबभत्ता रोक्का राख्ने र विधिसम्मत कारबाही थाल्न निर्देशन दिएका छन।
यता, राजश्व शाखा प्रमुख देवले भने आफूमाथि षड्यन्त्रपूर्वक आरोप लगाइएको दाबी गरेकी छिन। यद्यपि, उनले संकलित सम्पूर्ण रकम अहिलेसम्म बैंकमा दाखिला नभएको स्वीकार गरिन। शीर्ष खबरसँगको कुराकानीमा उनले भनिन, ‘मैले केही हिनामिना गरेकी छैन। अहिले आन्दोलनमा छौं, केही समयपछि अनलाइन सिस्टमबाट सबै विवरण हेरेर बताउँछु।’
प्रमुख प्रशासकीय अधिकृत डा. साहले अनियमितताको यकिन रकम अझै स्पष्ट नभए पनि करिब ७ लाख रुपैयाँभन्दा बढी राजश्व दाखिला हुन बाँकी रहेको अनुमान गरिएको बताएका छन।
हालसम्मको प्रारम्भिक विवरणअनुसार राजविराज नगरपालिकाभित्र आन्तरिक राजश्व व्यवस्थापन प्रणालीमै कमजोरी देखिएको छ। यदि राजश्व हिनामिना पुष्टि भयो भने यसले नगरपालिकाको वित्तीय अनुशासनमाथि गम्भीर प्रश्न उठ्नेछ।