सप्तकोसी नदिमा विपद् अभ्यासका क्रममा दुई सशस्त्र प्रहरी बेपत्ता, खोजी गर्दा अर्कैको शव भेटियो

राजविराज — विपद् व्यवस्थापन अभ्यासकै क्रममा सप्तकोसी नदीमा दुई जना सशस्त्र प्रहरी डुबेर बेपत्ता भएका छन। उनीहरूको खोजीका क्रममा भने अर्को व्यक्तिको शव फेला परेको छ।
शुक्रबारका लागि तय गरिएको बाढी तथा पहिरोजन्य विपद्को पूर्वतयारी अभ्यास अन्तर्गत बिहीबार दिउँसो कोशी ब्यारेज क्षेत्रमा अभ्यास भइरहेको थियो। अभ्यासकै क्रममा मधेश प्रदेश सशस्त्र प्रहरी कार्यालयबाट खटिएको गोताखोरसहितको उद्धार टोलीमा रहेका जवान सुरज साउद र हरदेव राजवंशी डुबेर बेपत्ता भएका हुन।
सप्तरीका सीडीओ भोला दाहालका अनुसार डुबेका प्रहरी जवानहरूको खोजी कार्य जारी छ। खोजीका क्रममा नदीमा अर्का एक ब्यक्तिको शव फेला परेको छ। पहिचान भने भएको छैन।
‘दुवै जवान खोज्ने क्रममा एउटा शव फेला परेको छ। तर त्यो शव उनीहरूकै हो वा होइन भन्ने खुल्न बाँकी छ।’ सीडीओ दाहालले भने। उनका अनुसार नदीमा खोज तथा उद्धार कार्य तीव्र पारिएको छ। सप्तरी र सुनसरी जिल्लाबाट थप सुरक्षाकर्मी परिचालन गरिएको छ।