काठमाडौँ महानगरमा असहज स्थितिः उपमेयर डंगोल र प्रशासकीय प्रमुख गुरागाईँलाई कालो मोसो दल्ने हल्लापछि सशस्त्र खटियो

काठमाडौँ– काठमाडौँ महानगरपालिकामा उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कालो मोसो दल्ने हल्ला चलेपछि कार्यालयमा सुरक्षाकर्मी नै बोलाउनु परेको छ।

शान्ति सुरक्षाको लागि भन्दै सशस्त्र प्रहरीको टोली महानगरमा खटिएको छ। यो हल्ला कसरी फैलियो भन्ने खुलेको छैन। महानगरका प्रवक्ता नवीन मानन्धरले आफूले पनि कालोमोसोको हल्ला सुनेको र सशस्त्र खटिएको जानकारी पाएको बताए।

उनका अनुसार उपमेयर र प्रशासकीय अधिकृत दुबै कार्यालयमा छैनन। उपमेयर डंगोल एक कार्यक्रममा सहभागी हुन विराटनगर गएकी छन भने प्रशासकीय अधिकृतको मोवाइल अफ छ।

उपमेयर डंगोलको साथ पाएका गुरागाईँ पछिल्लो समय महानगरमा हावी भएको र विभिन्न विषयमा मनोपोली गरेको चर्चा छ। यही चर्चाकाबीच कालोमोसोको हल्ला पनि चर्चामा आएको हो।

काठमाडौँ महानगरमा हाल कार्यपालिका तथा नगर प्रहरीप्रति मेयर बालेन्द्र साहको पकड कमजोर भएको छ। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगर प्रहरी प्रमुख राजु पाण्डेलाई निलम्बन गरेपछि मेयर साह एक्लिएका छन।

यसअघि बालेन्द्रकै निर्देशनमा पाण्डेले प्रशासकीय अधिकृत गुरागाईँलाई कार्यालय प्रवेशमा रोक लगाएका थिए भने उनले प्रयोग गर्ने गाडीमा ह्विल लक गरिदिएका थिए। यही घटनाका कारण पाण्डे लाई कारबाही गरिएको हो। नगर प्रहरीको नेतृत्व एसपी विष्णु जोशीलाई दिईएको छ।

यति मात्रै होइन, मेयर बालेन्द्र साह र प्रमुख प्रशासकीय अधिकृत गुरागाईंबीच पानी बाराबारको स्थिति छ। उपमेयर सुनिता डंगोलसँग पनि मेयर साहको सम्बन्ध बिग्रिएको छ। तीन प्रमुख व्यक्तिहरू बीचको आपसी अविश्वास र असमझदारीका कारण काठमाडौँ महानगरका महत्वपूर्ण काम र निर्णयहरू प्रभावित भएका छन। लामो समयदेखि कार्यपालिका बैठक नै बस्न सकेको छैन।

काठमाडौँका अधिकांश वडाध्यक्षहरू मेयर साहको कार्यशैलीलाई अलोकतान्त्रिक, अपारदर्शी र मनोमानीपूर्ण भन्दै विरोध गर्दै आएका छन। मेयर साहले कर्मचारी र जनप्रतिनिधिलाई उपेक्षा गर्दै सचिवालयमार्फत महानगर चलाउन खोजेको आरोप छ। मेयरले सामाजिक सञ्जालमा सरकार र नेताहरुको आलोचना गर्दा एमाले र कांग्रेसका वडाध्यक्षहरू थप रुष्ट छन।

महानगरका कर्मचारीहरूले पनि मेयर साहको व्यवहारप्रति असन्तुष्टि जनाएका छन। प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई भ्रष्टाचारी करार गर्न खोजेपछि कर्मचारीहरूले जनप्रतिनिधिसँग मिलेर उनलाई कायालयमा पुनस्र्थापित गराएका थिए। त्यसैले मेयर साह जनप्रतिनिधि र कर्मचारीको बीचमा एक्लो बनेका छन्। जसका कारण उनले कार्यपालिका बैठक बोलाउन सकिरहेका छैनन।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार महिनामा कम्तीमा एक पटक कार्यपालिका बैठक बस्नुपर्ने कानुनी व्यवस्था भए पनि मेयर साहले पाँच महिनादेखि बैठक बोलाएका छैनन। अन्तिम कार्यपालिका बैठक पुस १४ गते बसेको थियो। कार्यपालिका सदस्यहरूले दुई पटक बैठक बोलाउन पत्र बुझाए पनि मेयर साहले बेवास्ता गरेका छन।

बैठक नबसेपछि आर्थिक वर्ष ०८२।०८३ को बजेटको प्रक्रियामा समेत असर परेको छ। असार मसान्तभित्र बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ। बजेट तयार गर्न कार्यपालिका बैठक आवश्यक हुने हुँदा बैठकै नवस्दा बजेट तयार पार्न कठिनाई भएको छ।

मेयर साहको बैठक नबोलाउने अडानका कारण कार्यपालिका सदस्यहरू वैकल्पिक उपायको खोजिमा छन्। कार्यपालिका सदस्य तथा वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरले बैठक बोलाउनका लागि थप छलफल गरिने बताएका छन।

तर, प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले नगर प्रहरी प्रमुख पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेपछि बालेन्द्र अझै विच्किएका छन। पाण्डे मेयर साहका नजिकका व्यक्ति मानिन्छन। पाण्डे माथि नागरिकमाथि दमन गरेको आरोप पनि लागिरहेको छ।

पाण्डेमाथि गुरागाईँले एक्सन लिनासाथ मेयर साहले पनि वडाध्यक्षहरूलाई यस अघि दिईएका कतिपय जिम्मेवारी खोसेर अन्यलाई दिएका छन्। मेयर साह आफूलाई असहयोग गर्नेहरूप्रति कडा र निर्मम रुपमा प्रश्तुत हुने गरेका छन्।

काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ टावरको नक्सा पास गर्ने क्रममा प्रमुख प्रशासकीय अधिकृतले प्रक्रिया पूरा नगरी १९ तलाको नक्सा स्वीकृत गरेको भेटिएपछि मेयर साहले उनलाई कारबाही गरेका थिए। उपमेयर डंगोल र वडाध्यक्षहरुले मिलेर गुरागाईँलाई कार्यालयमा पनुर्स्थापित गराएका हुन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट