राजविराजमा निलम्बित मेयर र कार्यवाहकको सत्ता संघर्षले कार्यालयमा तोडफोड, लेखापालले कुटाई खाए

राजविराज– राजविराज नगरपालिकामा हाल निलम्बित मेयर भीमराज यादव र कार्यवाहक मेयर इसरत परविनबीचको विवादले उग्र रुप लिएको छ। भ्रष्टाचार अभियोगमा निलम्बनमा परेका यादव र परविनको आन्तरिक संघर्षले सम्पूर्ण नगरपालिका प्रशासन अस्तव्यस्त बनेको छ।
आईतबार नगरपालिका कार्यालयमा छोडफड तथा केही कर्मचारीलाई कुटपिट समेत गरिएको छ। निलम्बित मेयर यादवले प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण कुमार साहको सरुवापछि आइतबार नगरपालिकामा ताला लगाएका थिए। साहको स्थानमा शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाइएपछि यादवले नियुक्तिको विरोध गर्दै कार्यालयमा तालाबन्दी गरेका थिए। यादवले भोगेन्द्र यादवको नियुक्ति भ्रष्टाचार ढाकछोप गर्न गरिएको आरोप लगाएका छन।
मंगलबार बिहान कार्यवाहक मेयर इसरत परविन नेतृत्वको समूहले यादवले लगाएको ताला तोडेर निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र यादवलाई हाजिर गराए। त्यसपछि यादवका समर्थकहरु आक्रोशित बनेर नगरपालिका कार्यालयमा नाराबाजी गर्दै तोडफोड गरेका छन्।
आक्रोशित समूहले कार्यालय भवनका अधिकांश सिसा फुटाएका छन। बारुण यन्त्र कर्मचारी बस्ने भवनका सिसाहरू समेत तोडफोड गरिएको छ। यादव समर्थकहरुले लेखापाल शत्रुघन लाल दासलाई निर्घात कुटपिट गरेका छन। जसको अवस्था गम्भीर रहेको र हाल गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ। स्वास्थ्यकर्मी सन्तोष दासमाथि समेत हातपात भएको छ भने घटना स्थलमा फोटो खिचिरहेका तीन जना सर्वसाधारणको मोबाइल खोसेर फुटाइएको छ।
प्रहरीको उपस्थितिमा नै व्यापक तोडफोड भएको हो। तोडफोडका कारण लाखौं रुपैयाँको क्षति भएको बताइएको छ। ताला तोडेर प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन इसरत परविनसहितको टोली माथिल्लो तलामा पुगेपछि यादवका समर्थकहरुले कार्यालयको तल्लो तलामा टायर बालेर प्रदर्शन गरेका थिए।
स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।
प्रमुख प्रशासकीय अधिकृत डा। श्रवण कुमार साहको सरुवा र त्यसपछि भएको भोगेन्द्र यादवको नियुक्तिले विवादलाई झनै चर्काएको छ। साह आर्थिक अनुशासनमा कडाइ गर्दै आएका थिए। आन्तरिक स्रोतका अनुसार उनले कागजी मिलानमा आधारित तथा प्रक्रियागत कमजोरी भएका धेरै योजनाका फाइलहरू रोक्दै आएका थिए, जसले भुक्तानी प्रक्रियामा अवरोध सिर्जना गरेको थियो। साहकै कारण अघिल्लो हप्तामा करिब १० लाख रुपैयाँ राजस्व हिनामिनाको प्रकरण पनि सतहमा आएको थियो। उनले राजस्व शाखा प्रमुख कल्पना देवलाई तीन दिनभित्र रकम बैंकमा दाखिला गर्न निर्देशन दिँदै कडा पत्राचार गरेका थिए।
स्रोतका अनुसार डा। साह र योजना शाखा प्रमुख मनोज यादवबीच निकटता रहेको र मनोज यादवको कार्यवाहक मेयर परविनसँग सम्बन्ध राम्रो नरहेको पनि विवादको अर्को पाटो हो। केही दिनअघि मनोज यादवले कार्यवाहक मेयरको कार्यकक्षमा तोडफोड गरेको आरोपमा परविनले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्।
भोगेन्द्र यादवको नियुक्तिलाई लिएर निलम्बित मेयर यादवको असहमति अझै कायमै छ। यादवले भोगेन्द्रमाथि नगरपालिकाको रकम खर्च गरी लेखापाल तथा इन्जिनियरसहित थाइल्याण्ड भ्रमण गरेको आरोप समेत लगाएका छन्।
नगरपालिकाभित्रको आन्तरिक सत्ता संघर्ष र प्रशासनिक विवादका कारण अहिले सम्पूर्ण सेवा प्रवाह प्रभावित भएको छ। सामान्य प्रशासन, बजेट कार्यान्वयन, योजना स्वीकृति र जनसेवा ठप्प हुँदा नगरवासी मर्कामा परेका छन्। विवाद समाधानका लागि जिल्ला प्रशासन कार्यालयमा पटक–पटक छलफल भए पनि हालसम्म कुनै निष्कर्ष निस्किन सकेको छैन।
यदि छिट्टै समाधान खोजिएन भने यसको दीर्घकालीन असर नगरपालिकाको प्रशासनिक प्रणाली र नगरवासीको दैनिकीमा पर्ने संकेत देखिएको छ।