बहुविवाह मुद्दा खेपिरहेकी महिलालाई रात बिताउन प्रस्ताव गरेपछि रसुवाका न्यायाधीश थापा न्याय परिषदमा तानिए

काठमाडौं — बहुविवाह मुद्दा खेपिरहेकी एक महिलालाई रात बिताउन प्रस्ताव गरेको आरोपमा रसुवाका जिल्ला न्यायाधीश भुवनसिंह थापा न्याय परिषदमा तानिएका छन्। ती महिलाको उजुरीका आधारमा न्याय परिषद्ले थापामाथि प्रारम्भिक छानबिन सुरु गरेको छ।

माइती नेपालमार्फत दर्ता गराइएको उजुरीमा न्यायाधीश थापाले फोन तथा म्यासेजमार्फत रात बिताउनका लागि महिलालाई दवाव दिएको उल्लेख छ। ती महिला बहुविवाह मुद्दाकी प्रतिवादी हुन्।

परिषद् स्रोतका अनुसार विचाराधीन मुद्दा प्रभावित पार्ने नियतसहित न्यायाधीश थापाले महिलासँग प्रत्यक्ष सम्पर्क गरेका थिए। त्यही उजुरीका आधारमा प्रारम्भिक छानबिन गर्दा महिलासँग थापाको संवाद पुष्टि भएपछि न्याय परिषदमा तानिएको हो।

यस घटनामा रसुवाका जिल्ला सरकारी वकिल विमल थापामाथि पनि अनुसन्धान सुरु गरिएको छ। महिलासँग अनैतिक व्यवहारमा संलग्न रहेको आरोपपछि उनलाई महान्यायाधिवक्ता कार्यालयमा बोलाएर सोधपुछ भइरहेको छ। सुरुमा माइती नेपालमा उजुरी दिएपछि माइती नेपालले नै सो उजुरी न्याय परिषद् र महान्यायाधिवक्ताको कार्यालयमा समेत दर्ता गराएको थियो।

महान्यायाधिवक्ता कार्यालयले जिल्ला सरकारी वकिल थापालाई तत्काल जिम्मेवारीबाट हटाउँदै काठमाडौं बोलाएको छ।

यता, महान्यायाधिवक्ताको कार्यालयमा छलफलका लागि बोलाइएकी पीडित महिला भने पछिल्लो छलफलमा होस्टाइल बनेकी थिइन्। सुरुमा उनले न्यायाधीश र सरकारी वकिल दुवैले यौन दुव्र्यवहार गरेको दाबी गरेकी थिइन् भने पछिल्लो पटक भने विमल थापाले केही नगरेको बताएकी हुन्। यसले महिलामाथि दबाब परेको आशंका थपिएको छ।

उता, समाचार सार्वजनिक भएपछि न्यायाधीश भुवनसिंह थापा सञ्चार माध्यमसँग सम्पर्कमा आइ आफू निर्दोष रहेको दाबी गरेका छन्। ‘महिलाले मुद्दाबाट छुटकारा दिन मसँग आग्रह गरेकी थिइन्। मैले समयमै मुद्दाको फैसला नगरेको भन्दै ममाथि झूठो आरोप लगाइएको हो।’– उनले भने।

म्यासेज र अडियोका विषयमा प्रश्न गर्दा थापाले ती म्यासेज आफ्नो नभई सरकारी वकिल विमल थापाको भएको दाबी गरे।

न्यायाधीश थापाका अनुसार महिलाले उजुरी फिर्ता लिन चाहे पनि परिषद्ले अनुमति नदिएको र हुलाकमार्फत उजुरी फिर्ताको निवेदन पठाइएको जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट