शनिबार नागढुङ्गामा हाईस र हेटौंडामा बस दुर्घटना हुँदा ३० जना घाइते

काठमाडौँ– शनिबार नागढुङ्गामा हायस हेटौंडामा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन्। नागढुङ्गामा हाईस दुर्घटना हुँदा २० जना र हेटौंडामा बस दुर्घटना हुँदा १० जना घाइते भएका हुन्।
काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गा नजिक दिउँसो करिब पौने चार बजे बा ३ ख ८३२९ नम्बरको हाईस गाडी अनियन्त्रित भई करिब ८० मिटर तल खस्दा २० जना घाइते भएका छन्। घाइतेहरुको नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरी अस्पताल लगेको छ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। गाडीमा ४ जना बालबालिका, ५ जना महिला र ११ जना पुरुष सवार थिए। घाइतेहरुमा चालक अनिल तामाङ, सक्षम अधिकारी, सुजाता अधिकारी, अञ्जिला शाह, सुविधा मल्ल, ईश्वर थापा, गणेश पौडेल, सन्तबहादुर थापा, सुनिल श्रेष्ठ, प्रशान्त अधिकारी, प्रयास गुरुङ रहेका छन्।
त्यसैगरी भारतीय नागरिकहरु रिन्कु देवी, रवि कुमार, सार्थक कुमार, मानवी कुमार, डब्लु कुमार, राजकुमार, शिव कुमार, प्रञ्जल कुमार, निश्चत कुमार र तिर कुमारी पनि घाइते भएका छन्।
यसैगरी, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित डाइभरडाँडामा शनिबार दिउँसो ना ५ ख २९७० नम्बरको बसको ब्रेक फेल भई अनटेस्ट कार र ट्यांकरमा ठोक्किँदा १० जना घाइते भएका छन्।
बस वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको थियो। दुर्घटनामा बसमा सवार ४ र कारमा सवार ६ जना घाइते भएका हुन्। घाइतेहरुको उद्धार गरी हेटौंडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। तीमध्ये ६ जनाको अवस्था मध्यम र ४ जनाको अवस्था सामान्य रहेको बताइएको छ।