मोरङमा मोटरसाईकल दुर्घटनामा परी प्रहरी सहायक हवल्दारको मृत्यु, श्रीमती र छोरा घाइते

 विराटनगर- मोरङको कानेपोखरीमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको ज्यान गएको छ।

मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित डाँस खोला पुलको डाइभर्सनमा राति करिब ८ बजे मोटरसाइकल दुर्घटना हुँदा बेलबारी नगरपालिका–४ का ३१ वर्षीय प्रहरी सहायक हवल्दार जितेन्द्र चौधरीको मृत्यु भएको हो। चौधरी इलामको प्रहरी चौकी जमुनामा कार्यरत थिए।

दुर्घटना भएको मोटरसाइकल (प्र १–०२–०४३ प २४७१) मा चौधरी आफ्नी श्रीमती र छोरा साथमा लिएर पथरीबाट कानेपोखरीतर्फ जाँदै थिए। सोही क्रममा डाइभर्सनमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

दुर्घटनामा चौधरीकी २६ वर्षीया श्रीमती विमला धिमाल चौधरी र दुई वर्षीय छोरा जेशन चौधरी गम्भीर घाइते भएका छन्। विमला पनि इलामको प्रहरी चौकी जमुनामा प्रहरी जवानको रूपमा कार्यरत रहेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घाइते दुवैको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट