पाँचथरको हेवाखोलामा बेलिब्रिज भाँचिँदा तीन कामदारको मृत्यु, मृतक सवै बाराका

विराटनगर — पाँचथर जिल्लाको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा तीन जना कामदारको ज्यान गएको छ। दुर्घटनामा परेका अन्य तीन जना घाइते भएका छन्, जस मध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

शनिबार साँझ करिब ६ बजे मेची राजमार्गअन्तर्गत हिलिहाङ गाउँपालिका र पाँचथर नगरपालिकालाई जोड्ने हेवाखोलामा निर्माण भइरहेको बेलिब्रिज जडानको क्रममा पुल भाँचिएर खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ।

प्रहरीका अनुसार दुर्घटनामा बाराको सिमरा उपमहानगरपालिका निवासी २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय प्रकाश चौधरीको मृत्यु भएको हो। घाइते भएका सबैलाई उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा लगिएको थियो, जहाँ चिकित्सकले ती तीन जनालाई मृत घोषणा गरेका हुन्।

घाइतेहरुमा सिमरा उपमहानगरपालिका–१२ का २५ वर्षीय भुलेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिशेक चौधरी छन्। तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्य दुई जनाको अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक (डीएसपी) कौशलकुमार बुढाथोकीले जानकारी दिए।

दुर्घटना भएको बेलिब्रिज फिदिम नगरपालिका–४ तर्फ राखिएको बेसबाट जडान गरेर हिलिहाङ गाउँपालिका–७ तर्फ लगिदै गर्दा केही समयमै भाँचिएर खसेको हो। पुल जडानको क्रममा कामदारहरू खोलामाथि काम गरिरहेका बेला दुर्घटना भएको हो।

हेवाखोलामा पहिले रहेको पक्की पुल २०८० सालको असार २ गते आएको बाढीले बगाएको थियो। त्यसपछि अस्थायी रूपमा बेलिब्रिज जडान गरिएको थियो। तर, २०८१ साल असोज १२ गतेको अर्को बाढीले पहिलो बेलिब्रिज पनि बगाएपछि संघीय सरकारले पुनः नयाँ बेलिब्रिज निर्माणको जिम्मा दोभान सुपर सौगात लाइट बिल्डर्स जेभी नामक निर्माण कम्पनीलाई दिएको थियो।

तीन करोड ४९ लाख ३ सय ३६ रुपैयाँ लागतमा निर्माण हुँदै आएको बेलिब्रिज नेपालकै लामो मोडुलर ब्रिज (७० मिटर) हुने बताइएको थियो। तर, निर्माण सम्पन्न नहुँदै पुल भाँचिएको हो।

हाल पुल बगेपछि डाइभर्सनमार्फत यातायात सञ्चालन भइरहेको छ। तर, ठूलो वर्षा हुँदा खोलो बढ्ने र डाइभर्सन बगाउने खतरा अझै कायमै रहेको छ। बेलिब्रिज खसेपछि अब पुनः वर्षायाममा मेची राजमार्ग हुँदै पाँचथर सदरमुकाम फिदिमदेखि ताप्लेजुङ, हिलिहाङ, याङवरक र फालेलुङ गाउँपालिकासम्मको सडक सञ्जाल विच्छेद हुने जोखिम देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट