स्वास्थ्य प्रणालीको कुचक्रमा इमानदार डाक्टरको ज्यानकै जोखिमः ‘गुडबाई नोट’ लेखेर सम्पर्कविहीन

काठमाडौँ– नेपालको स्वास्थ्य प्रणालीमा देखिएको राजनीतिक हस्तक्षेप, कर्मचारीतन्त्रको चलखेल र व्यक्तिगत स्वार्थको जालोले एक इमानदार चिकित्सकलाई ज्यानकै जोखिममा पु¥याएको ताजा घटना सतहमा आएको छ।
रामेछाप जिल्ला अस्पतालका कार्यबाहक मेडिकल सुपरिन्टेन्डेन्ट डा. केशव श्रेष्ठ प्रशासनिक अन्याय, दवाव र मानसिक पीडाको विवरण लेख्दै फेसबुकमा ‘गुडबाई नोट’ पोस्ट गरेर सम्पर्कविहिन भएका छन्। उनको मोबाइल अफ छ र अन्तिम लोकेशन काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण हल नजिक देखिएको प्रहरीले जनाएको छ।
हाल उनी सम्पर्कविहीन छन् र प्रहरीले उनको खोजीमा विशेष टोली परिचालन गरेको छ। डा. श्रेष्ठले आफ्नो फेसबुक नोटमा अस्पताल सुधारका लागि इमानदारीपूर्वक खटिँदा व्यक्तिगत र राजनीतिक स्वार्थ बोकेको समूहले झूठा आरोप लगाइदिएको उल्लेख गरेका छन्। भ्रष्टाचार विरुद्ध उभिँदा र अस्पतालमा देखिएको अनुशासनहीनता हटाउन खोज्दा आफुमाथि दबाब, धम्की र अपमानजनक व्यवहार हुँदै आएको पनि उनले उल्लेख गरेका छन्।
‘अस्पतालमा अनियमितताका विरुद्ध आवाज उठाउँदा एउटा स्थानीय नेताको निर्देशनमा उल्टै झूठा मुद्दा लगाइदिएर जबर्जस्ती सरुवा गरियो। व्यवस्थापकीय भ्रष्टाचारमा संलग्न कर्मचारीहरूलाई कारबाही गर्दा उनीहरूले राजनीतिक पहुँच प्रयोग गरी बदला लिन थाले।’ उनले लेखेका छन्।
डा. श्रेष्ठले पटक–पटक आफ्नो पक्ष राख्न स्वास्थ्य मन्त्रालयका जिम्मेवार निकायहरूमा प्रयास गरे पनि कतैबाट सुनुवाइ नभएको बताएका छन्। उनको स्टाटसमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरू, स्थानीय नेताहरू र प्रभावशाली व्यक्तिहरूको मिलोमतोमा आफूलाई अन्यायपूर्वक व्यवस्थापनबाट बाहिर धकेलिएको आरोप छ।
उनले लेखेका छन्,– ‘जब सत्य बोलेर पनि कसैको साथ पाइँदैन, जब भ्रष्टाचारका विरुद्ध लड्दा उल्टै सजाय पाइन्छ, तब जीवनसँगै लड्न पनि सकिन्न रहेछ।’