सप्तरीमा ट्याक्टरले ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु, पछाडि बसेका गम्भिर घाईते

राजविराज– सप्तरीमा ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ भने पछाडि सवार एक युवक घाईते छन्।
शम्भुनाथ नगरपालिका–१ गोविन्द चोकमा रुपनीबाट शम्भुनाथतर्फ जाँदै गरेको स १ त ४९७२ नम्बरको ट्रयाक्टरले विपरीत दिशाबाट आउँदै गरेको प्र.२–०१–००१ प ३१३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा परी मोटरसाइकल चालक रुपनी गाउँपालिका–१ रुपनी बजार निवासी २५ वर्षीय मोहम्मद अजद मियाँ गम्भीर घाइते भएका थिए। उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकलमा पछाडि सवार १८ वर्षीय समिर मियाँको हात, खुट्टा र टाउकोमा चोट लागेको छ। उनलाई युनिक अस्पताल, रुपनीमा प्राथमिक उपचार गरी थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) पठाइएको छ।
ट्रयाक्टर चालक शम्भुनाथ नगरपालिका–१ का २७ वर्षीय कैलास कुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रयाक्टर र मोटरसाइकल इलाका प्रहरी कार्यालय, रुपनीको नियन्त्रणमा छन्।