करेन्ट लागेर ज्यान गुमाएकी दुर्गा एसइईमा ३.४५ जिपिएसहित उत्तीर्ण

गाईघाट–केही दिनअघि मात्रै करेन्ट लागेर ज्यान गुमाएकी उदयपुरको बेलका नगरपालिका–५ की १७ वर्षीया दुर्गा कार्की शुक्रबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा ३.४५ जिपिए ल्याएर उत्तीर्ण भएकी छिन्।
तर, यो नतिजाले उनको घरमा भने खुसीको साटो गहिरो शोक छाएको छ। जीवनलाई उत्कृष्ट बनाउन र परिवारको सपना पूरा गर्न कक्षाकोठादेखि परीक्षा हलसम्म कठिन संघर्ष गरेकी दुर्गाले यसपालि एसइईमा ३.४५ जिपिए ल्याएकी थिइन्। तर, उनले आफनो नजिता समेत हेर्न नपाई सन्सार त्यागिन।
नतिजा हेर्दा उनका आमाबाबुका आँखाबाट गर्वका होइन, छोरी गुमाएको पीडाले भरिएका आँसु झरे। ‘यो सफलताको खुसी कसरी मनाऊँ?’– उनकी आमाले भनिन्। दुर्गा सधैं पढाइमा अब्बल रहन्थिन्। परिवार र छिमेकीहरूले भोलि केही बन्ने सपना देखेकी ती किशोरीको मेहनतको चिनो अहिले कागजमा मात्रै सीमित रहेको बताए।
घटना शुक्रबार बिहान करिब साढे ८ बजे भएको हो। आफनै बुबा संजिव कार्कीले सञ्चालन गरेको कुखुराको फर्ममा काम गर्ने क्रममा दुर्गालाई करेन्ट लागेको थियो। गम्भीर भएकी उनलाई छटपटाइरहेको अवस्थामा उद्धार गरी बेलका नगर अस्पताल लगिएको थियो।
तर, उपचारकै क्रममा बिहान करिब साढे ९ बजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ। दुर्गाको मृत्युपछि परिवार शोकमा छ। शुक्रबार सार्वजनिक भएको एसइई नतिजाले त्यो पीडा झन् गाढा बनाएको छ।