लहानका उपमेयरले डेढ तोला सुन किनेर पैसा तिरेनन्, नगरपालिकामा पर्‍यो उजुरी

लहान– डेढ तोला सुन किनेर उधारो रकम चुक्ता नगरेपछि सिरहाको लहान नगरपालिकाका उपमेयर रामचलितर महतो विवादमा परेका छन्। उनीविरुद्ध नगरपालिका कार्यालयमै उजुरी परेको छ।

लहानस्थित विकास ट्रेडर्सका सञ्चालक राजाराम सारदाले आइतबार नगरपालिकामा औपचारिक उजुरी दर्ता गराएका हुन्। उजुरीमा एक वर्षअघि (०८१ साउन ३० गते) उपमेयर महतोले २ लाख ५१ हजार ४ सय ३० रुपैयाँ बराबरको सुन उधारोमा लिएको तर, उक्त रकम चुक्ता नगरेको उल्लेख छ।

चार–पाँच दिनमै पैसा चुक्ता गर्ने बाचा गरेर गएका महतो अहिलेसम्म पैसा लिएर नआएको उजुरीमा उल्लेख गरिएको छ। ‘सार्वजनिक पदमा हुनुहुन्छ। हामीले पटक–पटक अनुरोध गर्‍यौं, तर उधारो तिर्ने उहाँको मनसाय देखिएन’– उजुरीकर्ता राजारामले भने।

लहानका मेयर महेशप्रसाद चौधरीले उजुरी दर्ता भएको पुष्टि गर्दै भने, ‘हाम्रा उपमेयरविरुद्ध उजुरी आएको सत्य हो। मैले यो उजुरी बोर्ड बैठकमा पेस गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको छु।’

नगरपालिकाले उजुरीको औपचारिक छानबिन गर्ने तयारी गरेको जनाइएको छ। उपमेयर महतोले भने आफूलाई कुनै उजुरी परेको जानकारी नभएको र विषयबारे बुझ्ने प्रतिक्रियामा रहेको बताए। ‘हामीबीच आन्तरिक रूपमा जे जस्तो समस्या भएपनि उजुरी नै परेको छ भन्ने थाहा छैन, मैले पनि बुझ्नुपर्छ,’– उनले भने।

स्थानीय व्यवसायीले भने सार्वजनिक पदमा बसेका व्यक्तिले यसरी ब्यवहार विगार्नु र उजुरी नै दर्ता हुनु राम्रो संकेत नभएको टिप्पणी गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट