कैलालीमा ८० वर्षीया वृद्धाको घरमै विभत्स हत्या, अनुसन्धानमा तालिमप्राप्त कुकुर समेत परिचालन

राजधानी — कैलालीको जानकी गाउँपालिका–९, अमरावतीमा एक ८० वर्षीया वृद्धाको आफ्नै घरभित्र धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ।
मंगलबार बिहान सवा ८ बजे वृद्धा मातादेवी शाहीको शव आफ्नै दुई तले घरको माथिल्लो तलामा रहेको कोठाको खाटमा मृत अवस्थामा फेला परेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार शाही घरमा एक्लै बस्दै आएकी थिइन्।
छातीमा धारिलो हतियार प्रहार गरिएको र घाँटीमा समेत गम्भीर चोट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। शरीरका चोटपटक हेर्दा हत्या भएको पुष्टि भएको प्रहरीले बताएको छ।
इलाका प्रहरी कार्यालय टीकापुरका डीएसपी नवीन राजा बुढाथोकीका अनुसार घटनास्थलको प्रारम्भिक परीक्षणका क्रममा कुनै ठोस प्रमाण भेटिएको छैन। हत्या कसले र किन ग¥यो भन्ने विषयमा यकिन हुन नसकेको प्रहरीले जनाएको छ।
‘अहिलेसम्म घटनाका बारेमा यकिन भएको छैन। अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ’ डीएसपी सिंहले भने। घटनास्थल र आसपासको क्षेत्रमा प्रहरीको टोलीले सुक्ष्म निगरानी र सुराकी संकलन जारी राखेको छ।
स्थानीयका अनुसार अमरावती क्षेत्रमा दुई वर्षअघि पनि लागुऔषध प्रयोगकर्ताहरूको समूहले सामुदायिक वनमा एक युवकको घाँटी रेटेर हत्या गरेका थिए। पछिल्लो हत्या घटनाले पुनः त्रास फैलिएको छ।
स्थानीयका अनुसार शाहीका एक छोरा टीकापुर र अर्का छोरा काठमाडौंमा बस्दै आएका छन्।