बालगृहमा बस्ने किशोरीलाई बलात्कार गरेको आरोपमा सञ्चालक मधुसूदन राउत पक्राउ

राजधानी– मकवानपुरको कैलाश गाउँपालिका–३ मा सञ्चालित एक बालगृहमा बस्दै आएकी किशोरीमाथि सञ्चालकले नै पटक पटक बलात्कार गरेको घट्ना सार्वजनिक भएको छ। बालबालिका संरक्षणको नाममा सञ्चालन गरिएको संस्थाकै प्रमुखमाथि बलात्कारको गम्भीर आरोप लागेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको अभियोगमा बालगृहका प्रमुख ४८ वर्षीय मधुसूदन राउतलाई पक्राउ गरिएको छ। उनलाई काठमाडौंको काँडाघारी क्षेत्रबाट शुक्रबार दिउँसो नियन्त्रणमा लिइएको हो।
पीडित किशोरीले असार ८ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएकी थिइन्। उजुरीमा उल्लेख भएअनुसार राउतले जेठ १ देखि ८ गतेसम्मकै अवधिमा उनलाई पटकपटक बलात्कार गरेका थिए। उजुरी दर्ता भएको लामो समयसम्म पनि राउत पक्राउ परेका थिएनन्।
किशोरी विगत चार वर्षदेखि सांग्रीला डेभलपमेन्ट एसोसिएसनले सञ्चालन गर्दै आएको सो बालगृहमा बस्दै आएकी थिइन्। उनका बाबुको केही वर्षअघि दुर्घटनामा मृत्यु भएको थियो भने आमा सम्पर्कविहीन छन्। उनी मामाघरको हजुरआमासँग बस्दै आएकी थिइन्। कमजोर आर्थिक अवस्थाका कारण उनलाई बालगृहमा राखिएको हो।
बालगृहमा हाल १५ जना बालिकाहरू छन्। यस्तै संरचनामा शरण लिएका बालबालिकामाथि हिंसा हुनुले संस्थाको नियत र सरकारी निगरानीप्रति पनि गम्भीर प्रश्न उठाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी श्यामु अर्यालका अनुसार पक्राउ परेका राउतलाई शनिबार मकवानपुर ल्याइएको छ। आइतबार म्याद थप गरी अनुसन्धान अघि बढाइनेछ। पीडितको स्वास्थ्य परीक्षण भइसकेको र उनलाई आवश्यक मनोसामाजिक परामर्श सेवा दिइएको प्रहरीले जनाएको छ।