प्रेम विवाहको दर्दनाक अन्त्यः ६ महिनाको झगडापछि श्रीमतीको हत्या गरी श्रीमानद्वारा आत्महत्या

इटहरी– १० वर्षअघि प्रेम विवाह गरेर एकसाथ जीवन सुरु गरेका इनरुवा नगरपालिका–९ बबिया शिवमन्दिर टोलका सुदीप शर्मा खत्वे र नविता खातुनको वैवाहिक सम्बन्ध अन्ततः रक्तरञ्जित मोडमा पुगेर समाप्त भएको छ।
लामो समयदेखिको पारिवारिक झगडाले आइतबार बिहान हिंसात्मक मोड लिँदा श्रीमानले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन्। स्थानीयवासीका अनुसार, ४२ वर्षीय सुदीपले आइतबार बिहान मर्निङ वाकबाट फर्किएपछि ३२ वर्षीया श्रीमती नविता खातुनको घाँटी थिचेर हत्या गरे।
त्यसपछि नविताकै साडीको पासो बनाएर आफूले पनि घरभित्रै झुन्डिएर आत्महत्या गरे। उनीहरू एकतले कच्ची घरमा बस्दै आएका थिए।
सुदीप र नविताबीच पछिल्लो ६ महिनादेखि निरन्तर झगडा चलिरहेको थियो। दस वर्षअघि प्रेम सम्बन्धबाट विवाह गरेका उनीहरू केही समय काठमाडौंमा बसेपछि इनरुवा आएका थिए। हाल बबियामा बसोबास गर्दै आएका उनीहरूले बरफ र आइस्क्रिम बिक्री गरेर गुजारा चलाइरहेका थिए।
घटना बिहानै भएको भए पनि स्थानीयले निकै ढिलो गरी जानकारी पाएर प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट टोली घटनास्थलमा पुगेर कानुनी प्रक्रिया पूरा गरेको डीएसपी योगराज खतिवडाले जानकारी दिए।
शवहरू पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ। घटना सम्बन्धी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
सामाजिक पृष्ठभूमि हेर्दा सुदीपको पहिलो पत्नीबाट दुई सन्तान छन् भने नविता पनि पूर्व श्रीमानलाई छाडेर सुदीपसँग विवाह गरेर बसेकी थिइन्। तर पछिल्ला महिनाहरूमा सम्बन्धमा आएको चिसोपन अन्ततः प्राणघातक रूपमा परिणत भएको हो।