सुनसरीको हरिनगरमा गोली हानी भिनाजुले गरे १८ वर्षीया सालीको हत्या

इनरुवा (सुनसरी) – सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा एक किशोरीको आफ्नै भिनाजुले गोली हानी हत्या गरेका छन्। आइतबार राति करिब १ बजे भएको घटनामा १८ वर्षीया अर्सी खातुनको टाउकोमा गोली प्रहार भएको प्रहरीले जनाएको छ।

सुनसरीका एसपी सुमनकुमार तिम्सिनाका अनुसार भारतको पुर्णिया जिल्ला, पत्राहा पञ्चायत–१६, घुर्नाका २९ वर्षीय आजात मिया जटले अर्सीमाथि गोली प्रहार गरेका हुन्। घटनापछि मिया फरार भएका छन् र भारततर्फ भागेको आशंका गरिएको छ।

घटनास्थलमा एउटा गोलीको खोका फेला परेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा कटुवा पेस्तोल प्रयोग गरिएको देखिएको छ। घटनाको जानकारी प्रहरीलाई करिब दुई घण्टापछि मात्र प्राप्त भएको थियो।

घटनाको सूचनापछि जिल्ला प्रहरी कार्यालयका डिएसपी योगराज खतिवडाको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। अहिले भारतीय सीमावर्ती क्षेत्र सुपौलदेखि हरिनगरा नाका आसपास कडा निगरानीसहित सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ।

प्रहरीका अनुसार आजात मिया जटको विगत आपराधिक गतिविधिमा संलग्न रहेको आशंका छ र उनी विभिन्न अपराध समूहसँग आबद्ध रहेको सूचनाका आधारमा अनुसन्धान अगाडि बढाइएको छ।

मृतक अर्सी खातुनको शव पोष्टमार्टमपछि परिवारलाई बुझाइएको छ भने घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट