‘घूस डिल’ अडियो प्रकरणमा मन्त्री गुप्तासँग प्रधानमन्त्री ओलीले मागे स्पष्टीकरण, सार्वजनिक दवाव चर्किंदै

राजधानी — मालपोत अधिकृतको सरुवा र भूमि आयोगको पदाधिकारी नियुक्तिका लागि ५० लाख रुपैयाँ घूसको डिल गरेको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग स्पष्टीकरण मागेका छन्।
प्रधानमन्त्रीले सोमबार बिहान मन्त्री गुप्तालाई बालुवाटार बोलाएर अडियो प्रकरणको सम्बन्धमा सोधपुछ गरेका हुन्। प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार ओलीले गुप्तासँग ‘अडियोमा सुनिएको आवाज तपाईंको हो?’ र ‘त्यो डिल किन र कसरी भयो?’ भन्नेबारेमा स्पष्टिकरण मागेका थिए।
गुप्ताले भने अडियोमा रहेको आवाज आफ्नो नभई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी बनाइएको दाबी गदै छन्। उनले अडियोमा खुलेका बिचौलिया तथा कर्मचारीहरूलाई नचिन्ने पनि बताएका छन्।
तर, सार्वजनिक अडियोमा मन्त्री गुप्ताको आवाज प्रस्टसँग चिनिन्छ, जहाँ उनले अंक नै खोल्दै घूसको रकममा बार्गेनिङ गरेको सुनिन्छ। बिचौलियाले भूमि आयोग कास्कीको अध्यक्षमा खेमबहादुर पुनलाई नियुक्त गर्न २० लाख बुझाउने प्रस्ताव गर्दा मन्त्रीले जवाफ फर्काएका छन— ‘बलरामले त पहिले नै बुझिसकेको छ।’ अर्को अंशमा बिचौलिया भन्छ— ‘अहिले १५ गर्दिन्छु, अदालतको १० पेटी भोलि बिहान ल्याएर छोडिदिन्छु,’ मन्त्रीको जवाफ आउँछ— ‘मैले राख्ने होइन, भोलि बिहानै सम्बन्धित ठाउँमा बुझाउनुपर्छ।’ यो संवाद २५ लाखको डिलसँग सम्बन्धित रहेको स्रोतको भनाइ छ।
घटनासँगै मन्त्रीले लिएको भनिएको घूसको नोट तथा नम्बरको विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाइएको जनाइएको छ। तर, मन्त्रीको घूस डिल सार्वजनिक भएपछि प्रधानमन्त्री ओली स्वयं नैतिक संकटमा परेका छन्। ओलीले विगतमा ‘भ्रष्टाचारीको मुखै हेर्दिनँ’ भन्ने अभिव्यक्ति दिएका थिए। तर अहिले उनकै मन्त्रिपरिषद्का सदस्य गुप्ताले सार्वजनिक रूपमा घूस डिल गरेको प्रमाणहरू सार्वजनिक भएका छन्। उनी उनलाई निवासमै बोलाएर घट्नाको बारेमा सोधपुछ गर्नु परेको छ।
सामाजिक सञ्जालदेखि संसदसम्म गुप्तालाई बर्खास्त गर्न माग उठिरहेको छ। विपक्षी दलहरूले यस घटनालाई लिएर प्रधानमन्त्री र सरकारको नैतिकता र विश्वसनीयतामाथि प्रश्न उठाएका छन्। मन्त्री गुप्ताको बर्खास्तीको मागसहित सडक प्रदर्शन र सार्वजनिक आलोचना चर्कँदो छ।
यस प्रकरणमा मालपोत र भूमि प्रशासनसँग जोडिएका बिचौलियाहरूको भूमिकामाथि पनि प्रश्न उठेको छ। बिचौलिया सुजन लामा, जो भूमि व्यवस्था मन्त्रालयसँग जोडिएका पुराना फिक्सर प्रमोद खड्काको चेलो मानिन्छन्, उनीमाथि प्रत्यक्ष घूस प्रस्ताव गरेको आरोप छ। लामाले यसअघि भूमि मन्त्री रञ्जिता श्रेष्ठलाई समेत प्रभावित गर्न खोजेको, तर असफल भएपछि मन्त्री गुप्तासँग सीधा ‘डिल’ गरेको स्रोतहरू बताउँछन्।
यसअघि पनि गुप्ताका स्वकीय सचिव शिव पटेलले प्रमुख प्रशासकीय अधिकृत सरुवाका लागि सातदेखि १० लाखसम्म रकमको ‘डिल’ गरेको च्याट ‘जनआस्था’ले सार्वजनिक गरेको थियो। यी सबै घटनाहरूको पृष्ठभूमिमा प्रधानमन्त्रीलाई फूलमालाले स्वागत गर्ने मन्त्री गुप्ताको क्रियाकलापले सरकारको भ्रष्टाचारविरोधी दाबीलाई झूटो सावित गरिरहेको विश्लेषकहरु बताउँछन्।
सार्वजनिक अडियो, कागजात र च्याटहरूका आधारमा सरकारले तत्काल मन्त्री गुप्ताविरुद्ध छानबिन सुरु नगरे व्यापक राजनीतिक र नैतिक संकट झनै गहिरिने संकेत देखिएको छ।