४९ जना सवार रूसी विमान दुर्घटना, विमानमा रहेका सबैको मृत्यु भएको आशंका

राजधानी– रूसमा बुधबारदेखि सम्पर्कविहीन भएको एउटा विमान भिरालो जङ्गल क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। प्रारम्भिक उद्धार प्रयासमा कुनै पनि जीवित व्यक्ति फेला नपरेको बताइएको छ।

एन्टोनोभ एन–२४ विमान बुधबार खाबारोभ्स्कबाट ब्लागोवेश्चेन्स्क हुँदै टिन्डा जाँदै गर्दा टिन्डाबाट केही माइल वर पुगेर सम्पर्कविहीन भएको थियो। उक्त विमानमा चालक दलका ६ सदस्य र ४३ जना यात्रु, गरी ४९ जना सवार थिए। तीमध्ये ५ जना बालबालिका थिए।

रूसी समाचार संस्था तासका अनुसार, विमान टिन्डा विमानस्थलभन्दा केही माइल उत्तरतिरको भिरालो जंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो। उद्धारकर्ताहरूले हेलिकप्टरमार्फत खोजीका क्रममा उक्त स्थानमा धुवाँ देखेपछि अवलोकन गर्दा जहाजका भग्नावशेष फेला पारेका हुन्।

दुर्घटनास्थलमा आगलागीपछि जहाज पूर्ण रूपमा जलेर नष्ट भएको देखिएको छ। तसर्थ उद्धारकर्ताहरूले जीवित व्यक्ति फेला पर्ने सम्भावना निकै न्यून रहेको बताएका छन्।

यद्यपि रूसको केन्द्रीय प्रशासनबाट दुर्घटनाको औपचारिक पुष्टि आउन बाँकी रहेको जनाइएको छ। तर स्थानीय अधिकारीहरूले दुर्घटनाको पुष्टि गरिसकेका छन् भने केही तस्बिर र भिडियोहरू पनि सार्वजनिक भइसकेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट