भक्तपुरमा बालिका दिदीबहिनीको शंकास्पद मृत्यु प्रकरणः को हुन प्रहरीले खोजिरहेका भिनाजु ?

राजधानी– भक्तपुरको मध्यपुर थिमी, सिन्टीटारमा बिहीबार बिहान शंकास्पद अवस्थामा मृत भेटिएका सुर्खेत पञ्चपुरी नगरपालिका–८ का मेनुका कँडेल (१६) र सिर्जना कँडेल (१३) नामका दिदीबहिनी ‘भिनाजु’ नाता पर्ने व्यक्तिको सिफारिसमा नजिकैको गार्मेन्टमा काम गर्दै गरेको खुलेको छ।

प्रहरीले अहिले मृतक दिदीबहिनीले ‘भिनाजु’ भनेर बोलाउने ती व्यक्तिबारे अनुसन्धान गरिरहेको छ। दुवै किशोरी करिब दुई हप्ता अघि मध्यपुर थिमी नगरपालिका–९, सिन्टीटारस्थित कालिदेवी टेलर्समा काम खोज्दै पुगेका थिए। उनीहरू ४ जना (दुई दिदीबहिनी, अर्की किशोरी र भिनाजु) रहेको र उनीहरुले साथमा आएका युवकलाई भिनाजु भनेर चिनाइएको टेलर्स सञ्चालक पवन परियारले जानकारी दिएका छन्।

‘भिनाजुको एउटै मात्र कोठा छ, एकै ठाउँमा वस्न समस्या हुन्छ। कोठा पनि खोजिदिनोस भनेका थिए। तर कोठा उनीहरु आफैंले खोजे। ग्यासचुलो हामीले नै जडान गरिदिएका थियौं।’– परियारले भनेका छन्।

कहाँबाट आएको भनेर सोध्दा सुर्खेतबाट नै आएका भनेको उनले बताए। घट्ना हुनु दुई तीनदेखि नै काममा नआएको उनी बताउँछन्। ‘उनीहरू काम गर्नभन्दा पनि काम सिक्न भनी आएका थिए,’ उनले भने। वरिपरिका छिमेकीहरूले भने उनीहरूको बारेमा थप जानकारी नभएको बताएका छन। उनीहरुका अनुसार ती दिदीबहिनीको छिमेकमा कसैसँग बोलचाल भएको थिएन।

दिदीबहिनीको स्थानीय चक्रधर प्रजापतिको घरमा कोठा थियो। घरधनीका अनुसार दुई साता अघिमात्र ती किशोरीहरू डेरामा बस्न आएका थिए। आफूहरू कलेज पढ्ने भनेर कोठा लिएको घरधनीको भनाईका आधारमा प्रहरीले जनाएको छ। ईट्टा र फलामले बनेको २ तले घरको भुइ तलामा कोठाको प्यासेजमा बिहीबार बिहान ६ः४५ बजे उनीहरुको शव फेला परेको थियो।

फलामको डण्डी (बलो)मा नाइलनको डोरी घाँटीमा पासो लगाई झुण्डिएको अवस्थामा उनीहरुको शव भेटिएको थियो। दिदीबहिनी एउटै डोरीमा झुण्डिएको अवस्थामा फेला परेको भक्तपुर प्रहरी परिसरका डीएसपी ढुण्डीराज नेउपानेले बताए।

शव फेला परेपछि दिनभर त्यहाँ हेर्न आउनेहरूको भीड लागेको थियो। उनीहरु करिब तीन साताअघि भारतको मुम्बईस्थित मीरा भाइन्दरबाट सम्पर्कविहिन भएको खुलेको छ। मृतक किशोरीका बाबुआमाले भने आफ्ना छोरीहरूलाई कसैले होटलमा काम लगाएको आरोप लगाएका छन्। मृत्युको खबर पाउनुपूर्व उनीहरू छोरीहरूको खोजी गर्दै भारतको एक अनलाइन टेलिभिजनमा पुगेका थिए।

सिगास अनलाइन टेलिभिजनमा कुराकानी गर्दै किशोरीका बाबुआमा (वासुदेव र उमा)ले सीसी क्योमरा नभएको ठाउँमा होटल साहुजीले काम लगाउने गरेको बताएका थिए। त्यसको तीन दिनपछि दुवैजना झुन्डिएको अवस्थामा मृत भेटिएको खबर सार्वजनिक भएको थियो।

उनीहरुले होटलमा काम गरेको विषयमा भने हालसम्म प्रहरीले कुनै जानकारी नभएको बताएको छ। किशोरीका बाबु वासुदेवका अनुसार उनी ३० वर्षभन्दा पहिलादेखि भारतमा बस्दै आएका थिए। कान्छी छोरी सिर्जनालाई जन्मेको एक वर्षपछि आफूसँगै लगेका थिए। दिदी मेनुका भने सुर्खेतमै थिइन्।

श्रीमती र छोराछोरीसहित वासुवेद मुम्बईमा लामो समयदेखि बस्दै आएका थिए। मेनुकाले पनि बाबुआमासँगै भारत जाने, घुम्ने बस्ने इच्छा देखाएपछि उनलाई पनि सँगै लगिएको थियो। भर्खर भारत गएकी मेनुकालाई हिन्दी बोल्न आउँदैनथ्यो। छोरीहरूलाई भारतमा बासुदेवले सिलाइबुनाइ र कम्प्युटरको क्लास भर्ना गराइदिएका थिए।

तर करिब तीन साताअघि कम्प्युटर क्लास जान्छु भनेर गएका छोरीहरू अचानक सम्पर्कविहिन भए। त्यसदिन म्यासेन्जरमा कल गर्दा उठेन। त्यसपछि आमाले ‘रोटी बनाएर खानू, म काममा गएँ’ भन्दै भ्वाइस म्यासेज छोडिन। जवाफमा कान्छी छोरीले ‘ममी हामी यहाँ छैनौं,हामी बैंगलोर गयौं। पैसा कमाएपछि तपाईंलाई भेट्छौं, त्यो भन्दा अघि भेट्न सक्दैनौं’– भ्वाइस म्यासेजमै जवाफ फर्काईन।

यो म्यासेजले आत्तिएकी उमाले वासुदेवलाई फोन गरेर बेलिविस्तार लगाईन। दुवै जना कोठामा भेला भए। हेर्दा छोरीहरूका कपडा, पैसा, एटीएम, आधार कार्ड केही छैन। खोजतलास गर्दा आफन्त र चिनेजानेका कसैकोमा छैनन्। कम्प्युटर क्लास जान्छु भनेर हिँडेका छोरीहरू बेपत्ता भएपछि उनीहरूले प्रहरीलाई खबर गर्छन।

आमा उमाले भनेकी छिन्– ‘लोकेसन चेक गर्न लगाउँदा बिउण्डुतिरको देखायो। त्यतातिर रातभरी खोज्यौं। भोलिपल्ट प्रहरीमार्फत फेरी लोकेसन हेर्दा नेपालतर्फ गएको देखियो। बीचबीचमा मोबाइल अफ भएको पनि देखियो।’ खोजविनकै क्रम प्रहरी मार्फत दिदीबहिनी गोरखपुर बोर्डरतर्फ गएको जानकारी पाएको उमाले बताएकी छिन्।

उनीहरूले आफूखुसी यस्तो निर्णय नै लिन नसक्ने उनले बताईन। ‘कसैले फोन गरेर बोलाएको हुन सक्ने’ उमाको आशंका छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट