पूर्वसैनिकद्वारा खाटको खुट्टाले हानेर निदाईरहेकी श्रीमतीको हत्या, आफैँ फोन गरेर बोलाए प्रहरी

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोलामा शनिबार मध्यराति एक पूर्वसैनिकले आफ्नै श्रीमतीको हत्या गरेका छन्। हत्या आरोपी ४२ वर्षीय दानसिंह ठाडा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ठाडाले शनिबार राति करिब पौने २ बजे सुतेकी श्रीमती ४१ वर्षीया रविना ठाडा मगरको टाउकोमा काठको टुक्रा प्रहार गरेका थिए। खाटको खुट्टा बनाउन राखिएको सो काठको टुक्राको प्रहारबाट घटनास्थलमै रविनाको मृत्यु भएको हो।

हत्या गरेपछि दानसिंहले आफैँ प्रहरीलाई फोन गरेर जानकारी गराएका थिए। डीएसपी मोहनजंग बुढ्थापाले भने, ‘उहाँले भन्नुभयो, सर, श्रीमती मारेँ, पक्राउ गर्न आउनुहोस्।’ ठाडाले प्रहरीलाई आफ्नै घरको ठेगाना पनि दिएका थिए।

प्रहरीले खबर पाएको करिब एक घण्टापछि, आइतबार बिहान अस्थायी प्रहरी बिट करेखोलाबाट पुगेको टोलीले ठाडालाई नियन्त्रणमा लिएको थियो। घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईको कमान्डमा १० जनाको टोली खटाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

रविनाको शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँ पठाइएको छ। हत्या हुनुभन्दा केही समयअघि दानसिंहले आफ्नो वडाध्यक्षसँग समेत फोन नम्बर मागेका थिए। वडाध्यक्ष दीपेन्द्रराज कोइरालाका अनुसार ठाडाले त्यो रात आफूसहित परिवारका अन्य सदस्यलाई पनि फोन गरेका थिए। ‘उनले मसँग पनि राति नम्बर मागेका थिए,’ वडाध्यक्ष कोइरालाले भने, ‘उहाँ केही वर्षअघि नेपाली सेनाबाट रिटायर्ड हुनुभएको थियो।’

उनले मादक पदार्थ सेवन गर्न छाडेको पनि एक हप्ता मात्र भएको कोइरालाको भनाइ छ। प्रहरीका अनुसार ठाडा मानसिक असन्तुलनबाट पीडित रहेको प्रारम्भिक जानकारी छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

हत्या गर्ने ठाडा र मृतक रविना मात्रै घरमा बस्दै आएका थिए। उनीहरूको तीन छोरीमध्ये एक जापानमा छिन् भने दुई जनाको विवाह भइसकेको छ। छोरा दुबईमा कार्यरत छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट