सिरहामा पूर्व वडाध्यक्षका ८० वर्षीय बुवाको धारिलो हतियार प्रहारबाट हत्या

लहान– सिरहाको धनगढीमाई नगरपालिका–११ निवासी भूपू वडाध्यक्ष कमलदेव यादवका बुबा ८० वर्षीय फनिलाल यादवको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ।
मंगलबार राति घरमै सुतिरहेको अवस्थामा अज्ञात समूहले धारिलो हतियारले आक्रमण गरेको प्रहरीले जनाएको छ। बिहान अबेरसम्म नउठेपछि परिवारजनले बोलाउन घरमा पुगेका फनिलाल गम्भीर घाइते अवस्थामा फेला परेका थिए। उनलाई तत्काल लहानस्थित प्रादेशिक अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषित गरे।
मृतकका जेठा छोरा कपिलदेव यादवले बुवामाथि रातमा कसले हमला गरेको हो भन्ने थाहा नभएको बताए। उनले घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरे।
फनिलाल यादवको हत्या विरोधमा स्थानीयले धनगढीस्थित पूर्व–पश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरेका छन्। प्रदर्शनका कारण करिब एक घण्टा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
सिरहा प्रहरीका डिएसपी वीरेन्द्र पासवानका अनुसार घटना कसले घटाएको भन्नेबारे अहिलेसम्म केही खुल्न नसकेको र थप अनुसन्धान भइरहेको छ।