झापामा छिमेकी महिलाको ४५ लाख ठगी गरेर भागेकी टिकामायाँ पक्राउ

दमक– छिमेकी महिलाको ४५ लाख रुपैयाँ ठगी गरी फरार भएकी झापाको बिर्तामोड नगरपालिका–५ की ४२ वर्षीया टिकामाया लिम्बू (मादेन) पक्राउ परेकी छिन्। उनलाई काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७ बाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार मादेनले बिर्तामोड–५ कै बोलीकुमारी नेम्वाङको ४५ लाख ३३ हजार ७५० रुपैयाँ ठगेकी थिइन्। पीडितको उजुरीका आधारमा लामो समयदेखि फरार रहेकी मादेनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।
मादेनले उक्त रकम नगद सापटीको रूपमा वा अन्य कुनै प्रयोजनका लागि लिएको हो ? भन्ने विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
झापा जिल्ला अदालतबाट म्याद थप गराई उनीमाथि थप अनुसन्धान जारी राखिएको प्रहरीको भनाई छ। मादेनविरुद्ध अन्य आर्थिक ठगीसम्बन्धी उजुरीसमेत दर्ता भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
प्रतिक्रिया