झापा हुँदै भारत पुर्‍याईएका ७ नेपाली किशोरीको पानीटङ्की नाकाबाट उद्धार, मानव तस्करीको आरोपमा दुई जना पक्राउ

दमक– वैदेशिक रोजगारीको प्रलोभनमा पारेर झापा हुँदै भारत पुर्‍याइएका सात जना नेपाली किशोरीलाई सीमावर्ती पानीटङ्की नाकाबाट भारतीय प्रहरीले उद्धार गरेको छ। उनीहरूलाई बेचबिखन गर्न लागिएको आशङ्कामा भारतीय प्रहरीले दुई जना पुरुषलाई पनि पक्राउ गरेको छ।

शुक्रबार भारतीय प्रहरीले पानीटङ्की नाकाबाट ती किशोरीहरूलाई उद्धार गरेर खोरीबारी प्रहरी थानामा राखेको हो। उद्धार गरिएका किशोरीहरू सबै संखुवासभा जिल्लाका हुन्। मानव तस्करीको आरोपमा पक्राउ परेकामध्ये एक जना भारत दार्जीलिङका तोरीबारी निवासी ४१ वर्षीय दिपेश गुरुङ हुन।

अर्का ब्यक्ति संखुवासभाको मकालु–३ निवासी ६१ वर्षीय जपन गुरुङ रहेको बताइएको छ। ती दुईले किशोरीहरूलाई हङ्कङमा रोजगारको लोभ देखाएर नेपालको काँकडभिट्टा हुँदै भारतको सिलिगुढीतर्फ लैजाँदै गर्दा पक्राउ परेका थिए।

भारतीय प्रहरीले उनीहरूको साथबाट नक्कली आधार कार्ड र अन्य कागजात पनि बरामद गरेको छ। ती कागजातको प्रयोग गरेर किशोरीहरूलाई अवैध रूपमा भारतबाट तेस्रो देश लैजाने प्रयास भइरहेको खुलेको माइती नेपालले जनाएको छ।

उद्धारपछि किशोरीहरूलाई नेपाल ल्याउन माइती नेपालको टोली पानीटङ्की पुगे पनि कानुनी प्रक्रिया नटुंगिएसम्मको लागि भारतीय प्रहरीले उनीहरूलाई खोरीबारी प्रहरी थानामै राखेको जनाएको छ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाले भने नेपाली पक्षसँग भारतीय प्रहरीले औपचारिक रूपमा कुनै सम्पर्क नगरेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट