सप्तरीमा दलित बालिका बलात्कारका आरोपी २ दिनमै छुटे, प्रहरी भन्छ– उजुरी नै परेन

राजविराज— सप्तरीको राजविराज नगरपालिका–११ की १५ वर्षीया दलित बालिकालाई अपहरण गरी सामुहिक बलात्कार गरेको आरोपमा पीडित परिवारले कुटपिटपछि प्रहरीको जिम्मा लगाएका युवक २ दिनमै रिहा भएका छन्।

पीडित भनिएको परिवारले जाहेरी नदिएको भन्दै जिल्ला प्रहरी कार्यालय सप्तरीले ती युवकलाई शुक्रबार परिवारको जिम्मा लगाएको हो।

बुधबार राति करिव ८ बजे घर अगाडिबाटै ती बालिका अपहरणमा परेकी थिईन। खोजतलासका क्रममा विहिबार विहान गाउँ नजिकैको एक घरबाट उनको उद्धार गरिएको थियो। बालिकाले १८ र १९ वर्षका २ जना युवकले बलात्कार गरेको र अन्य दुई जनाले सहयोग गरेको परिवारलाई बताएकी थिईन।

त्यसपछि घट्नास्थलमै फेला परेका १९ वर्षीय एक युवकलाई परिवार र आफन्तले तत्कालै समातेर कुटपिट गर्दै प्रहरीको जिम्मा लगाएका थिए। तर, जाहेरी नै नपरेकाले रिहा गरिएको सप्तरी प्रहरीले जनाएको छ।

यता, जनप्रतिनिधिसहितको दवाब र प्रभावका कारण बालिकाको परिवार जाहेरी दिन हच्किएको खुलेको छ। सामूहिक बलात्कारको घटना खुलेपछि मिलापत्रका लागि बसाइएको ‘पञ्चायती’ मा उनीहरुलाई १ लाख लिएर मिलापत्र गर्न आग्रह गरिएको थियो।

पीडित परिवारले जाहेरी दिने अडान नछाडेपछि धम्क्याउन थालिएको थियो। त्यसपछि पीडित परिवार घटनाबारे बोल्नै तर्किने गरेको छ। शुक्रबार विहान स्थानीय स्वास्थ्य चौकीमा मिलापत्रका लागि बोलाईएको पञ्चायतीमा वडाध्यक्ष उदितनारायण यादव समेतले दबाब दिएको पीडित परिवारले बताएको छ।

वडाध्यक्ष यादवले भने पञ्चायतीमा सहभागि हुन नगएको दावी गरेका छन्। ‘म मलको कुपन वितरण गर्न गएको थिएँ। त्यही क्रममा पञ्चायतीमा सहभागि भएकाहरुले सल्लाह मागेपछि गल्ती गर्नेलाई कानुनअनुसार कारबाही हुनुपर्ने विषय मात्रै राखेँ।’ उनले भने– ‘मैले घटना मिलाउन दबाब दिएको छैन।’

वडाध्यक्ष यादवका अनुसार पञ्चायतीमा भएकाहरुले ‘प्रहरीले तपाईहरु गाउँमै मिलेर आउनोस भनेर पठाएको छ, के गरौं’ भनेर सल्लाह मागेका थिए। उक्त पञ्चायती एक घण्टापछि बिथोलिएको थियो। त्यसपछि आरोपितका परिवारले घरमै पुगेर प्रहरीमा जाहेरी नगर्न आग्रह गर्दै अन्यथा गाउँबाटै भगाउँने भन्दै धम्की दिन थालेको स्थानीयले जानकारी दिएका छन्।

जाहेरी दिँदा जातीय आधारमा बाहुल्य रहेको समाजमा दुस्मनी लिए जस्तो हुने भएकाले हिम्मत गर्न नसकेको पीडितका हजुरबुवाले बताएका छन्। ‘मुद्दामा जाँदा इज्जत पनि जाने र गाउँका कोही आफ्नो नरहने डर भयो’– उनले भनेका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी जितेन्द्रकुमार बस्नेतले भने जाहेरी नआएपछि मुद्दा प्रक्रिया अघि बढाउन नसकेर आरोपितलाई परिवारको जिम्मामा छाडिएको बताए। ‘सुरुमा पीडित बालिकासँग सोधपुछ गर्दा एउटा कुरा आयो। पछि घरपरिवारका मान्छे आएर सामान्य झगडाका कारण यस्तो भएको हो, बलात्कार होईन भनेपछि हामीले छोडिदियौँ।’

प्रहरीले बालिकाको स्वास्थ्य परिक्षण समेत नगराई उनको बयान मात्रै लिएर छोडेको छ। बालिकाको मन्जुरी चाहिने भएकाले स्वास्थ्य परिक्षण नभएको डीएसपी बस्नेतको भनाई छ। उनले घट्नामा प्रहरीले ‘मिलापत्र गरेर आउनु’ पनि नभनेको प्रष्ट पारे। ‘करणी जस्तो घट्नामा प्रहरीले मिलेर आउनु भन्ने सवालै आउँदैन। ती वाहिरका उडुवा कुरा हुन।’– उनले भने।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट