थारू आयोगकी सदस्य शान्ति मोदीले कार्यवाहक अध्यक्षलाई कार्यकक्षमै थुनिन्

राजधानी– थारू आयोगमा नेतृत्व तहमा विवाद सार्वजनिक भएको छ। आयोगकी सदस्य शान्ति मोदीले कार्यवाहक अध्यक्ष सुबोध सिंह थारूलाई आइतबार केही समय कार्यकक्षमै थुनिएको खुलासा गरेकी छन्।

उनको दाबी अनुसार, आफूलाई नियमित रूपमा हाजिरी गर्न नदिने, विदाको निवेदन स्वीकृत नगर्ने लगायतका व्यवहारिक असहयोग भएपछि उक्त कदम चाल्न बाध्य भएकी हुन्।

‘म १४ गते बुधबार कार्यालयमा उपस्थित भए पनि कार्यवाहक अध्यक्षले हाजिरी गर्न दिएनन्। साउन १४ गतेदेखि थप २२ दिनको बिदा मागेको निवेदन समेत स्वीकृत गरेनन्,’ उनले भनिन्, ‘मानवअधिकार अध्ययन गरेकी नाताले १० मिनेट मात्रै थुनिदिएकी थिएँ र तुरुन्तै ढोका खोलिदिएकी थिएँ।’

शान्ति मोदीका अनुसार, उनले असार १३ देखि १९ सम्म घर बिदा स्वीकृत गराएकी थिइन्। असार १८ गते संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतको फैसला आउने सम्भावना रहेकाले असार १९ सम्म मात्र छुट्टी लिएकी बताइन्। ‘फैसला आयोगको पक्षमा आएपछि म कार्यालय आउन सकिनँ,’ उनले भनिन्।

तर कार्यवाहक अध्यक्ष थारूको भनाइ फरक छ। उनका अनुसार, ६ दिनको बिदा लिएर गएकी मोदी करिब एक महिनापछि मात्रै कार्यालय फर्किएकी थिइन्, जसका कारण हाजिरी गर्न दिइएन।

शान्ति मोदीले भने आफ्नो ८५ दिनको बिदा बाँकी रहेको दाबी गर्दै, ‘कुनै पनि संवैधानिक पदाधिकारीले बिदा लिँदा कारण खुलाउनुपर्ने बाध्यता छैन। त्यो मेरो निजी गोपनीयताको अधिकारको विषय हो,’ भनी स्पष्ट पारेकी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट