पतञ्जलि जग्गा घोटाला प्रकरण: शालिग्राम सिंहलाई पनि पूर्वप्रधानमन्त्री नेपालको जति नै धरौटी, ३५ लाखमा रिहा

राजधानी— पतञ्जलि योगपीठ नेपालका प्रमुख शालिग्राम सिंहसँग विशेष अदालतले ३५ लाख रुपैयाँ धरौटी माग गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा भ्रष्टाचार मुद्दा दायर गरिएका सिंहलाई विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले आइतबार ३५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
सोही प्रकरणमा संग्लन अर्का अभियुक्त पूर्वमन्त्री प्रेमबहादुर सिंहसँग भने अदालतले मात्र ५० हजार रुपैयाँ धरौटी माग गरेको छ।
आइतबार नै विशेष अदालतमा उनीहरू दुवैजनासँग बयान लिइएको थियो। त्यसपश्चात थुनछेक बहस सुनुवाइ गरी आदेश सुनाइएको हो।
पतञ्जलि योगपीठलाई सिमाना मिचेर जमिन राख्न छुट दिने, र त्यही छुटमा प्राप्त जग्गा फरक प्रयोजनमा बेच्न अनुमति दिने निर्णय माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद् अन्तर्गत २०६६ माघ १८ गतेको विधेयक समितिले गरेको थियो।
अख्तियारले भ्रष्टाचारको आरोपमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा गत जेठ २२ गते मुद्दा दायर गरेको थियो।
यसअघि पूर्वप्रधानमन्त्री नेपाल पनि ३५ लाख धरौटी बुझाएर छुटेका थिए।