सप्तरीमा प्रहरीको गोली लागि एक जनाको मृत्यु, यसरी भयो हिंसात्मक झडप

राजविराज — सप्तरीको राजगढ गाउँपालिका–२, कमलपुरमा मंगलबार राति मदिरा तस्करी नियन्त्रण गर्न पुगेको प्रहरी र स्थानीय समूहबीच झडप हुँदा एक स्थानीयको ज्यान गएको छ। प्रहरीको गोली लागेर ३५ वर्षीय लालु यादवको मृत्यु भएको हो।

घटनाबारे जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी जितेन्द्रकुमार बस्नेतले पुष्टि गरेका छन्। भारततर्फ तस्करी गर्न भण्डारण गरिएको मदिरा रहेको भन्ने गोप्य सूचनाका आधारमा इन्स्पेक्टर वीरेन्द्रकुमार यादवको कमाण्डमा खटिएको टोलीमाथि आक्रमण भएपछि आत्मरक्षाको लागि चार राउन्ड हवाई फायर गरिएको उनको भनाई छ।

सोही क्रममा यादवको बायाँ तिघ्रामा गोली लागेको थियो। प्रहरीका अनुसार घाइते यादवलाई राति साढे ११ बजे गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल, राजविराज ल्याइएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको हो।

घटनाका क्रममा ढुङ्गामुढाबाट दुई जना प्रहरी पनि घाइते भएको प्रहरी स्रोतले जनाएको छ। प्रहरीमाथि आक्रमण भएपछि उत्पन्न तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिन खोज्दा झडप चर्किएको थियो।

प्रहरीले घटनास्थल कमलपुरबाट ८० कार्टुन मदिरा नियन्त्रणमा लिएको छ। अन्य केही मदिरा तस्करहरूले छाडेर भागेका थिए। प्रहरीका अनुसार ती सबै मदिरा भारत तर्फ तस्करी गर्ने तयारीमा राखिएको थियो।

घटनापछि क्षेत्रको अवस्था केही समय तनावग्रस्त बनेको थियो। अहिले स्थिति सामान्य रहेको प्रहरीको भनाइ छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट