सुनसरीमा बस–माइक्रोबस ठोक्किँदा मृत्यु हुनेको संख्या ५ पुग्यो, सप्तरीका मात्रै ३ जनाले ज्यान गुमाए

इटहरी — सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान भएको बस र माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। घट्नामा अझै २३ जना घाइते छन्।
प्रहरीका अनुसार मृत्यु हुनेमा सप्तरीको महदेवा गाउँपालिका–६ का ३५ वर्षीय शंकर मण्डल, तिरहुत गाउँपालिका–२ का ६० वर्षीय जीवछ महात्मान, उनकी पत्नी ५२ वर्षीया अनारवतीदेवी यादव तथा सुनसरीको कोशी गाउँपालिका–६ का ७० वर्षीय लक्ष्मण सदा र विराटनगर महानगरपालिका–१० का ४० वर्षीय अशोक यादव छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाका अनुसार दुर्घटना बिहान करिब ७ बजे भएको थियो। काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रो(विङगर) आपसमा ठोक्किएका थिए।
दुर्घटनामा घटनास्थलमै दुई जनाको मृत्यु भएको र अन्य तीन जनाको अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। शंकर मण्डल, लक्ष्मण सदा र अशोक यादवको उपचार ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल भोक्राहामा, अनारवतीदेवीको जिल्ला अस्पताल इनरुवामा, र जीवछ महात्माको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृत्युको पुष्टि भएको हो।
जीवछ महात्मान हालै मात्र अमिन पदबाट अवकाश लिएका थिए। उनी र उनकी पत्नी उपचारका लागि बिराटनगर जाँदै थिए।
दुर्घटनामा २८ जना घाइते भएका मध्ये २३ जनाको उपचार भइरहेको र तीन जना सामान्य अवस्थामा घर फर्किएका छन्। घाइतेमध्ये बीस जनाको उपचार ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल भोक्राहा र विराटनगरको गोल्डेन अस्पतालमा भइरहेको छ। केही घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
बस चालक झापाको अर्जुनधारा नगरपालिका–१ का ३६ वर्षीय गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार वर्षा भइरहेको र दुवै सवारी तीव्र गतिमा रहेकाले दुर्घटना भएको अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।