बुबा–आमा एमाले नेता, श्रीमती एमालेबाटै उपमेयरः क्याम्पस प्रमुख छोडी किन रास्वपामा टिकट माग्दैछन् पार्थिवेन्द्र ?

राजधानी— रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचन नजिकिँदै गर्दा राजनीतिक माहौल तातिँदै गएको छ। राप्रपा सांसद दीपक बोहराको असामयिक निधनपछि खाली भएको यो क्षेत्र जित्न दलहरू प्रतिस्पर्धामा छन्।

यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पनि उम्मेदवारको छनोट प्रक्रियामा नयाँ नामले चर्चा पाउन थालेको छ। त्यो नाम हो— पार्थिवेन्द्र उपाध्याय। पार्थिवेन्द्रको राजनीतिक जरो भने एमालेमा गाडिएको छ।

उनका बुवा धनपति उपाध्याय एमालेबाट सांसद थिए। श्रीमानको निधनपछि आमा पुष्पाञ्जली उपाध्याय पनि एमालेमै सक्रिय भइन्। उनकी श्रीमती उमा अधिकारी एमालेको टिकटमा सिद्धार्थनगर नगरपालिकाको उपमेयर निर्वाचित भएकी छन्। पारिवारिक पृष्ठभूमि मात्र होइन, उनी स्वयं माओवादी द्वन्द्वकालमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा सक्रिय थिए।

तर, विडम्बना— एमालेको राजनीतिक वंश बोकेका पार्थिवेन्द्र अहिले वैकल्पिक राजनीति भन्दै रास्वपामा हामफालेका छन्। यो मात्रै होईन, यसअघि २०७४ सालको निर्वाचनमा पनि उनी वैकल्पिक शक्ति भन्दै विवेकशील पार्टीमा लागेका थिए। यही क्षेत्रमा उनले सांसदका लागि उम्मेदवारी पनि दिए।

विवेकशील कमजोर भएपछि अब उनले अर्को वैकल्पिक ठेगाना रास्वपामा खोजेका हुन्। रास्वपाको नीतिअनुसार शिक्षक, प्राध्यापक वा सरकारी सेवक सदस्य बन्न नपाउँने भएपछि उनले रूपन्देही क्याम्पस प्रमुखको जागिर पनि चटक्कै छोडेका छन्।

अध्यापन गरिरहेका पार्थिवेन्द्रले पदबाटै राजीनामा दिए। ‘अब म एउटा नयाँ बाटोतर्फ लाग्दैछु। कता पुगिन्छ, समयले बताउनेछ,’ उनले फेसबुकमा लेखेका थिए। यो साता मात्रै रास्वपाले उम्मेदवार छनोटका लागि आन्तरिक नाम दर्ता खुला गर्दा ९ जनाले आवेदन दिएका छन्। तीमध्ये पार्थिवेन्द्रको नामले भने भैरहवा वरिपरि खास चर्चा पाइरहेको छ। आफ्नो प्राध्यापन करियर नै दाउमा राखेर चुनामा हानिएपछि उनको नाम चर्चामा छ।

निर्वाचन कार्तिक १७ गतेका लागि तय गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट