झुम्का कारागारबाट सामूहिक बलात्कार मुद्दाका कैदी फरार, ५ सदस्यीय छानबिन समिति गठन

इटहरी — सुनसरीको झुम्का कारागारबाट सामूहिक बलात्कार मुद्दामा सजाय भुक्तान गरिरहेका एक कैदी मंगलबार राति फरार भएका छन्। खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री कारागारको ‘बी’ ब्लकमा फरार भएका हुन।

जेलर सुवासकुमार लामिछानेका अनुसार राति खत्रीले कारागारको पर्खाल नाघेर भागेको जानकारी चौकीदारमार्फत प्रशासनमा आएको बताए। खत्रीलाई सामूहिक बलात्कारको घटनामा संलग्न रहेको अभियोगमा अदालतले २०८१ साउन २१ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो। मुद्दाको किनारा लागेपछि जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते उनलाई १३ वर्ष कैद सजाय सुनाएको थियो।

घटनापछि सुनसरीका सीडीओ धर्मेन्द्रकुमार मिश्रको नेतृत्वमा सुनसरीका सुरक्षा निकायका प्रमुखहरू सम्मिलित टोलीले स्थलगत निरीक्षण गरी कारागारको सुरक्षा अवस्था मूल्यांकन गरेको छ। त्यस्तै, सहायक सीडीओ लोकमान श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई कारागारको वस्तुस्थिति र कैदी फरार भएको घटनाको सम्पूर्ण विवरणसहित प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको छ।

झुम्का कारागारमा खत्री फरार हुनु अघि १ हजार ७ सय ९५ कैदीबन्दी थिए। जेलर लामिछानेका अनुसार सुरक्षा निकायले खत्रीको खोजी तीव्र पारेको भए पनि अहिलेसम्म फेला पार्न सकेको छैन। ‘सबैतिर खोजी भइरहेको छ, तर हालसम्म फेला पार्न सकिएको छैन।’– उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट