बलात्कार सम्वन्धि पुरानो धारणा कोट्याएर एमाले सांसदद्वारा रास्वपा सांसद सोविता गौतमको आलोचना

राजधानी — प्रतिनिधिसभाको बुधबारको बैठकमा नेकपा एमालेकी सांसद दीपा शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमको पुरानो अभिव्यक्तिप्रति प्रश्न उठाएकी छन्। ‘एउटी महिला बलात्कृत हुनु र झापड खानु कसरी उस्तै हुन सक्छ?’ भन्दै शर्माले गौतममाथि प्रश्न उठाएकी हुन।
सांसद शर्माले भनिन्, ‘आफूलाई अब्बल कानुन व्यवसायी भन्नुहुन्छ र नयाँ सुझबुझ भएको ठान्नुहुन्छ। उहाँको अहिले भाइरल भएको एउटा भिडिओ छ, जबसम्म एउटा बलात्कृत महिलाको शरीरमा हानि भएको छैन भने बलात्कृत हुनु र कसैले झापड हान्नु एउटै हो भन्ने उहाँको अभिव्यक्ति छ।’
सांसद गौतमले केही वर्षअघि एक अन्तर्वार्तामा बलात्कारमात्रै हुनुभन्दा शरीरमा अंगभंग हुनु बढि पीडादायी हुने बताएकी थिइन्। अन्तरवार्तामा सोविताले बलात्कारलाई समाज र मिडियाले अनावश्यक ग्लोरिफाइ गरेको तर्क गरेकी थिईन। यदि बलात्कारबाट महिलाको शरीरमा कुनै हानि नोक्सानी पुगेको छैन भने त्यसलाई धेरै ठूलो रुपमा लिन नहुने उनको भनाइ थियो। बलात्कृत महिलालाई विचरा ठान्ने वा छिछी दुरदुर गर्ने प्रवृत्ति समस्याको कारक बनेको उनको धारणा थियो।
‘म आफ्नै उदाहरण दिन चाहन्छु, मलाई कसैले बलात्कार ग¥यो, म पीडित महिला भएँ। अर्को सिनारियो– कोही मान्छेले आएर मेरा दुइटै खुट्टा काटिदियो। अब तपाईं यी दुइटा इन्सिडेन्टलाई कम्पेयर गरेर हेर्नुस्, म बलात्कृत महिला धेरै विचरा भएँ वा खुट्टा काटिएकी महिला विचारा भई ?’ उनले भनेकी थिईन–‘यसरी हेर्दा खुट्टा काटिएको घटनाचाहिँ जघन्य अपराध हो नि त। खुट्टै काटिदिएपछि अब म के गर्ने? बलात्कृत हुँदैमा पुनस्र्थापना हुन कुनै गाह्रो छैन।’
यो अभिव्यक्ति विवादित बनेपछि उनले सामाजिक सञ्जाल मार्फत माफीसमेत मागेकी थिईन। गौतम गत निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट काठमाडौँ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन।