राष्ट्रगानका सर्जकको नाममा ठगीः ‘व्याकुल माइला’ बनेर हिडेका बेल्टारका मिलन राई पक्राउ

इटहरी— आफूलाई राष्ट्रिय गीत ‘सयौं थुँगा फूलका हामी’ को सर्जक व्याकुल माइला भन्दै ठगी गरेको आरोपमा उदयपुरको चौदण्डीगढी नगरपालिका–६, बेल्टारका मिलन राईलाई प्रहरीले पक्राउ गरेको छ।

इटहरी उपमहानगरपालिका परिसरबाट राईलाई पक्राउ गरी प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ। इलाका प्रहरी कार्यालय इटहरीका अनुसार, राईले लामो समयदेखि वास्तविक सर्जक प्रदीपकुमार राई ‘व्याकुल माइला’ को नाम दुरुपयोग गर्दै विभिन्न सरकारी तथा गैर–सरकारी निकायमा ठगी गर्दै आएको आरोप छ।

उनी आफैंले लेखेका पुस्तकहरूलाई व्याकुल माइला कृतिको रूपमा बिक्री गर्दै आएका थिए। बिहीबार इटहरीमा पुस्तकको भुक्तानी लिन पुगेका बेला प्रहरीले उनलाई पक्राउ गरेको हो।

मिलन राईले आफू राष्ट्रगानको वास्तविक सर्जक भएको दाबी गर्दै राष्ट्रपति कार्यालय र सभामुख देवराज घिमिरेलाई पनि निवेदन दिईसकेका थिए। करिब सात महिनाअघि उनले राज्यले व्याकुल माइला नाममा दिँदै आएको मासिक भत्ता आफूले पाउनुपर्ने मागसहित निवेदन दिएका थिए।

राईले हालै कोसी प्रदेशका विभिन्न स्थानीय तह र विद्यालयहरूमा पुस्तक बिक्री गरी ठगी गरेको जानकारी प्रहरीले दिएको छ। प्रारम्भिक अनुसन्धानपछि उनलाई इनरुवा लगेर म्याद थप गरी अनुसन्धान जारी राखिएको छ।

प्रदीपकुमार राई ‘व्याकुल माइला’ का अनुसार, मिलन राईको कार्यबाट करिब सात–आठ वर्षदेखि उनी पीडित छन्। मिलनले आफूलाई वास्तविक व्याकुल माइला भन्दै आएको र ठगी तथा दुरुपयोग गरेको विषयमा कानुनी कारबाहीको माग गरेका छन्।

प्रहरीले नक्कली व्याकुल माइला मिलन राईविरुद्ध ठगी र नाम दुरुपयोगको आरोपमा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट