रौतहटमा मेला उदघाटन गर्न पुगेका मेयरले कुटाई खाए, टाउकोमा चोट, १७ टाँका

रौतहट — रौतहटको देवाहीगोनाही नगरपालिका–९ धरहरीटोलमा शनिबार साँझ कृष्ण जन्माष्टमी मेलाको उद्घाटनलाई लिएर दुई पक्षबीच भएको छ। झडपमा नगरप्रमुखसहित पाँच जना घाइते भएका छन्।

घटनामा देवाहीगोनाही मेयर प्रेमलाल साह कानु, स्थानीय रामविकाश साह, श्यामविनय साह, इलाका प्रहरी कार्यालय देवाहीगोनाहीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार जगदीशराय यादव र धनसुन्दर ठाकुर घाइते भएका हुन्।

डीएसपी राजन कार्कीका अनुसार मेयरको टाउकोमा गम्भीर चोट लागेर १७ वटा टाँका लगाउनुपरेको छ। त्यस्तै, हवल्दार यादवको टाउकोमा पाँच वटा र हवल्दार ठाकुरको टाउकोमा चार वटा टाँका लगाइएको छ। अन्य घाइतेहरूको उपचार गरुडास्थित बेटर नेपाल मल्टिस्पेसियालिटी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।

डीएसपी कार्कीका अनुसार कृष्ण मन्दिरमा लाग्ने मेलाको औपचारिक उद्घाटन गर्ने कि नगर्ने भन्ने विषयमा दुई पक्षबीच विवाद सुरु भएको थियो। मेयर कानु पक्षले रिबन काटेर मेलाको उद्घाटन गर्ने अडान लिएपछि अर्को पक्षले धार्मिक कार्यक्रमलाई राजनीतिक रंग दिन नहुने भन्दै आपत्ति जनाएका थिए।

विवाद चर्किँदै गएपछि हातपातमा परिणत भएको र झडपमा मेयरसहित अन्य व्यक्ति र प्रहरीसमेत घाइते भएको उनले बताए।

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले धरहरीटोलका ३५–४० वर्षका राधामोहन साह, ३५–४० वर्षका विनोद साह र २१–२२ वर्षका रीतिक साहलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट