गौर काण्डबारे सर्वोच्चको परमादेशपछि पूर्वमन्त्री जयप्रकाश गुप्ताको प्रतिक्रियाः ‘म जेल पर्दा मिठाई बाँडे, तर म दुःखी छु’

राजविराज — अठार वर्षअघि भएको गौर काण्डबारे पुनः अनुसन्धान गर्न सर्वोच्च अदालतले सरकारलाई परमादेश जारी गरेपछि पूर्वमन्त्री जयप्रकाश गुप्ताले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका छन्।

गुप्ताले दुई वर्षअघि राष्ट्रिय मानव अधिकार आयोगले गौर काण्डका दोषी भनेर एकपक्षीय रूपमा राजनीतिक कार्यकर्ता र नागरिक समाजका व्यक्तिहरूमाथि कारबाहीको सिफारिस गरेको स्मरण गर्दै त्यसलाई बदनीयतपूर्ण भनेका छन्।

उनले आयोगले घटना भएको बेला नै टोली खटाए पनि प्रतिवेदनलाई १६ वर्षसम्म थन्क्याएर राख्नु र पछि मात्रै कारबाहीको सिफारिस ल्याउनुले अनेकौं प्रश्न उठाएको दाबी गरेका छन्।

मानव अधिकार आयोगलाई निष्पक्ष र विवेकशील नभएको आरोप लगाउँदै गुप्ताले मधेसका विषयमा अझ पक्षपाती देखिएको टिप्पणी गरे। गौर काण्डबारे आयोगले तयार पारेको प्रतिवेदनमा माओवादी पार्टी, यसको भातृ संगठन मधेसी मुक्ति मोर्चा र तत्कालीन सरकारको प्रत्यक्ष जिम्मेवारीलाई उल्लेख नगरेको भन्दै उनले आपत्ति जनाएका छन्।

गुप्ताका अनुसार आयोगले एक पक्षको प्रतिरक्षा र अर्को पक्षको फजिहत गर्ने प्रयास मात्र गरेको हो। विगतका मधेस आन्दोलनमा सयभन्दा बढी मधेसीहरूको राज्यद्वारा नृशंसतापूर्वक हत्या भए पनि त्यसबेला आयोगले राज्यलाई पृष्ठपोषण गर्ने काम गरेको गुप्ताले आरोप लगाएका छन्।

उनका अनुसार मधेससँग सम्बन्धित घटनामा आयोग बारम्बार अविश्वसनीय भूमिकामा देखिएको छ। सर्वोच्च अदालतको ताजा परमादेशपछि अब अनुसन्धानको जिम्मा सरकारले लिनुपर्ने गुप्ताको भनाइ छ। उनले अदालतले गर्ने न्याय सम्पादनभन्दा पहिले सरकारले गर्ने खटनपटन र नियत महत्वपूर्ण हुने बताए।

गुप्ताले उपेन्द्र यादवप्रतिको प्रसंग पनि जोड्दै सर्वोच्च अदालतले विगतमा आफूविरुद्ध फैसला गरेको रात उपेन्द्र यादवले मधेसमा मिठाई बाँड्न निर्देशन दिएको स्मरण गरे। तर, अहिले सर्वोच्चको यो परमादेशले आफूलाई पीडा भएको भन्दै उनले उपेन्द्र यादवसहित मधेसका नेताहरूले यसको अन्तर्य बुझ्नुपर्ने टिप्पणी गरे।

उनका अनुसार सर्वोच्चको आदेशले लामो समयदेखि थन्किएको गौर काण्डलाई पुनः सतहमा ल्याएको छ र अब सरकार र प्रहरीको अनुसन्धानकै आधारमा यस अध्यायको दिशा तय हुनेछ।

यस्तो छ जेपी गुप्ताको फेसवुक स्ट्याटस।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट