मोदीले ट्रम्पका ४ फोन कल नउठाएको जर्मन अखबारको खुलासा, अमेरिका–भारत सम्वन्धमा तिक्तता

राजधानी– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका लगातार चार फोन कल नउठाएको समाचार बाहिरिएको छ। जर्मनीको एफएजी नामक अखबारले उक्त जानकारी सार्वजनिक गरेको हो। अहिले भारतीय मिडियाले समेत जर्मन अखबारलाई उद्धृत गर्दै समाचार प्रसारित गरेका छन्।
अखबारका अनुसार, अमेरिकाले भारतमा ५० प्रतिशत भन्सार कर लगाउने निर्णयपछि दुई देशबीचको सम्बन्ध तिक्त बन्दै गएको हो। भन्सार विवादपछि भारत चीनतर्फ झुक्दै गएको संकेत देखिएको छ। मोदीको आगामी चीन भ्रमणको मिति सार्वजनिक भइसकेको छ भने दुवै देशबीच सीमा व्यापार, सीमा वार्ता र हवाई सेवा सञ्चालनमा सहमति भएको बताइएको छ।
यही पृष्ठभूमिमा मोदी–ट्रम्प सम्बन्ध चिसिएको खबरले अन्तर्राष्ट्रिय ध्यान तानेको छ। अमेरिकाका दक्षिण एसिया विश्लेषक तथा फरेन पोलिसी पत्रिकाका स्तम्भकार माइकेल कुगेलम्यानले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै भनेका छन्, ‘यदि ट्रम्पले पटक–पटक मोदीलाई सम्पर्क गर्ने प्रयास गर्दा पनि मोदीले कुरा गर्न नचाहेको खबर सत्य हो भने, यो केवल सरकार–सरकारबीचको सम्बन्धमै नभई नेताहरूबीचको व्यक्तिगत सम्बन्धमा समेत सङ्कट आएको सङ्केत हो।’
उनका अनुसार, यस घटनाले संयुक्त राष्ट्रसंघ महासभाको छेउमा हुन सक्ने सम्भावित मोदी–ट्रम्प भेटको वातावरणलाई समेत नकारात्मक असर पार्ने देखिन्छ।