हामीले न सम्झे कसले सम्झी दिन्छ राजेश्वर नेपालीलाई !

राजेश्वर नेपाली प्रतिवद्धताहरूको सन्दर्भमा एक समेकित व्यक्तित्व हो। अर्थात ‘कम्प्रेहिन्सिभ कमिटमेन्ट’ भएको व्यक्ति हो। धेरै प्रकारका आदर्श तथा मान्यताहरूलाई सँगै लिएर हिडेको मानिस हो, उहाँ।

मैले राजेश्वर नेपालीलाई बिस २०३२/०३३ साल तिर सप्तरीमा भेटेको थिए। उहाँ जनकपुरका तत्कालीन कानून व्यवसायी गिरिशचन्द्र लालका साथ सप्तरीको कंचनपुर (मेरो जन्म गाउँ) आउनु भएको थियो। कंचनपुर तिनताकमा प्रतिबन्धित नेपाली काँग्रेसका गतिविधीको उल्लेखनीय केन्द्र थियो। डा. दिवाकर दत्त बडो नाम चलेका नेता हुनुहुन्थ्यो, काँग्रेसको। उहाँकै निवासमा मैले राजेश्वर जी र गिरिशचन्द्र जीलाई भेटेको थिए। गिरिश जी पछि प्रख्यात कानून व्यवसायी भई सर्वोच्च अदालतको न्यायाधिश हुनु भयो। तर, त्यस बखत उहाँहरू दुबै जना नेपाली काँग्रेसको कुनै संगठनात्मक प्रयोजनका लागि आउनु भएको थियो। त्यस बखत शायद करिब ३०/३२ बर्षको हुनुर्छ, राजेश्वर नेपाली जी। आज उहाँको देहावसान भएकै धेरै भयो। धेरैको स्मृतिबाट नै यो नाम हराएको छ होला।

यसपछि मैले पटक पटक उहाँलाई भेटे। पछिल्ला भेटहरू प्रायसः जनकपुर र काठमाडौँमा भयो, विभिन्न प्रयोजनका लागि। उहाँका बिभिन्न अनुभवहरूको लाभ लिनका लागि। तर, मैले यी सबै भेटहरूमा उहाँका केही बिलक्षण गुणहरूमा अविचलित निरन्तरता पाएँ। उहाँलाई चिन्ने जान्नेले सबैभन्दा पहिला उल्लेख गर्ने बिषय हो–उहाँको सादगी। पहिरनको सादगी र चरित्रको शिष्टता। आम मधेसी मध्यम वर्गको पहिरन धोति र प्रायसः खद्दरको कुर्ता उहाँको पहिचान बन्न गयो। यसपछि शान्ति र अहिंसाका प्रति उहाँको श्रद्धा स्वभावको पक्ष रह्यो। जनकपुर, भारत बिहार राज्यसँग सीमामा आवद्ध छ। भारतीय स्वाधिनता आन्दोलनको क्रममा सीमा पारीको क्षेत्रमा महात्मा गांधीको बडो ठूलो प्रभाव रहेको थियो। यसैबाट प्रभावित भएर जनकपुरका कयौं सचेत मानिसहरू नेपालमा राणा शासनको बिरूद्धमा लागेका थिए। उनिहरू त्यस बेला समाजका ‘रोल मोडेल’ सरह थिए–यसबाट जो सुकै जाकरूक तथा परिवर्तनमुखी युवाहरू प्रभावित हुनु स्वभाविक नै हुन्छ। राजेश्वर नेपाली पनि गहिरो किसिमबाट प्रभावित हुनु भयो। यसका बावजूद कतिपय जान्ने बुझ्नेहरूले राजेश्वर जीलाई कडा मिजाजका ठान्ने गर्थे। मन नपरेका कुराहरूमा उहाँको तक्षण तर कटु लाग्ने प्रतिकृया दिने बानीलाई कतिपयले असौहाद्रपूर्ण मान्दथे। वास्तवमा ‘असहमत’ हुनु र त्यसलाई व्यक्त गर्नसक्नु सचेत मानिसको यौटा ठूलो गुण मानिन्छ। राजेश्वर जीले जीवन पर्यन्त पत्रकारितालाई पेशा बनाउनु भयो। लगभग हरेक दिन नै लेखि रहनु पर्ने दिनचर्या रहेको थियो। यसैगरी समाजका नागरिक अगुवाको रूपमा पनि उपस्थिति रहेको थियो। जनकपुरमा आयोजना हुने अपवाद वाहेकका सबै राजनीतिक, साहित्यिक तथा सामाजिक विषयका सभा जमघटहरूमा नेपाली जी वक्ता रहने गर्नु हुन्थ्यो। यस्ता मौकाहरूमा बेवाक रूपमा आफ्ना धारणा राख्ने उहाँका स्वभावले असहमतहरूका नजरमा उहाँको परिचय कटु बोल्ने मानिसको रूपमा पनि गराएको हो। शायद, एउटा यो पनि कारण होला–राजेश्वर जी का धेरै आलोचकहरू थिए। कतिपयले यस स्वभावका कारणले राजेश्वर जीलाई राजनीतिमा स्थान बनाउन कठिन भएको भन्छन।

उपेक्षित, उत्पीडित समुदायका अधिकारका लागि उहाँ सदैव सजग तथा संघर्षका पक्षपाति रहनु भयो। यद्यपि, त्यसका लागि हुने आन्दोलन तथा संघर्षका चरणहरू शान्तिपूर्ण र अहिंसक हुनुपर्नेमा उहाँ दृढ रहनु भयो। भुलवश कतिपयले उहाँलाई ‘मधेस आन्दोलन’ का एक योजनाकार तथा कर्ताधर्ता मध्येका मान्दछन्। यो सत्य होईन। मधेसीहरूले मुलुकका अन्य नागरिक सरह सबै अधिकार पाउनु पर्दछ भन्ने मान्यता उहाँको रहि आएको हो। यसैले गर्दा सद्भावना परिषद देखि मधेसी जन अधिकार फोरम–नेपालसम्मको स्थापनाकालिन सभाहरूमा राजेश्वर जीको उपस्थिति रहेको थियो। तर उहाँले कहल्यै पनि ति पार्टी तथा संगठनसँग संगठनात्मक आवद्धता जनाउनु भएन। खासगरी मधेसी पार्टीहरूका लागि उहाँ एकै साथ मार्ग दर्शक र आलोचक दुबै भुमिकामा देखिनु हुन्थ्यो।

उहाँले पत्रकारितालाई पेशा बनाउनु भयो। आज उहाँलाई धेरैले पत्रकारको रूपमा देख्छन। तर पत्रकारिता उहाँका लागि ‘मिशन’ भन्दा कहिल्यै पनि अर्थोपार्जनको साधन भएन। पञ्चायती व्यवस्थाको समयमा पत्रकारितालाई उहाँले दबाईएका अभिव्यक्तिहरूलाई सार्वजनिक गर्ने माध्यम बनाउनु भयो। यसो भन्नु अत्योक्ति हुने छैन कि राजेश्वर नेपालीले पञ्चायती व्यवस्थाको कठोर दिनमा प्रतिबन्धित राजनीतिलाई जीउँदो राख्न अहम् महत्वको भुमिका निर्वाह गर्नु भयो र नेपाली काँग्रेस भित्र कयौ युवा नेताहरूको निर्माणमा ठुलो योगदान दिनु भयो।

तर, यी कुराहरू बाहेक मैले उहाँका बारेमा उल्लेख गर्नुपर्ने एउटा मुख्य कुरो छ, त्यो हो राजेश्वर नेपाली प्रतिवद्धताहरूको सन्दर्भमा एक समेकित व्यक्तित्व हो। अर्थात ‘कम्प्रेहिन्सिभ कमिटमेन्ट’ भएको व्यक्ति हो। धेरै प्रकारका आदर्श तथा मान्यताहरूलाई सँगै लिएर हिडेको मानिस हो, उहाँ।

अध्यात्म, राजेश्वर नेपालीसँग अविच्छिन्न जोडिएको पक्ष थियो। उहाँ कतिको कर्मकाण्डी रहनु भयो, मलाई जानकारी छैन। तर अध्यात्मिक आराधनालाई उहाँले मानसिक स्वच्छता तथा एक आदर्श जीवन पद्धतिको रूपमा स्वीकार गरेको पाईन्छ। भगवानको असीम शक्तिका प्रति उहाँको भरोसा प्रबल रहेको छ। म जेल परेको थिए। डिल्लीबजार कारागारमा रहेको थिए। राजेश्वर जी मलाई भेटन आउनु भयो र मेरो सबै प्रकरणलाई नियतिको लीला भन्नु भयो। हिडने बेलामा मलाई आश्वस्त पार्दै भन्नु भयो–‘जाहे बिधी राखे राम, ताहे बिधी रहिए।’ यसो भन्नु हुँदा उहाँले भारतका प्रथम राष्ट्रपति डा. राजेन्द्र प्रसादको अध्यात्मिक भरोसाका बारेमा रोचक कुराहरू सुनाउनु भएको थियो। मैले ठानेको छु, अध्यात्मलाई राजेश्वर जीले जीवनमा संकट आई परेको बेला भरोसाका लागि, अविचलित रहनका लागि अनुभव गर्ने तथा आत्मसात गर्ने बिषयको रूपमा बढी ग्रहण गर्नु भएको व्यक्ति हुनुहुन्थ्यो।

यसरी नै प्रजातान्त्रिक राजनीतिक प्रणाली प्रतिको उहाँको सोच मौलिक प्रकारको थियो। एक शुद्ध प्रजातान्त्रिक प्रणालीलाई शब्दाडम्बर चाहिन्न। प्रजातान्त्रिक व्यवस्था भने त्यसको स्थायी चरित्र जस्तो कि सार्वभौम जन निर्वाचित संसद, दलिय राजनीतिक प्रणाली, स्वतन्त्र न्यायपालिका, समानुपातिक–समावेशी प्रतिनिधित्व, शक्ति पृथकीकरण, नियन्त्रण तथा सन्तुलन जस्ता मौलिक गुणहरूबाट मात्र प्रजातान्त्रिक हुने कुरामा उहाँको बिश्वास थियो। न की गैर प्रजातान्त्रिक शासनमा ‘लोकतान्त्रिक’ जस्ता शब्दाडम्बरलाई जोड्दा व्यवस्था प्रजातान्त्रिक हुन्छ। यस मान्यताका आधारमा नेपाली जी कतिपय पार्टी र शासनको कटु आलोचक हुनु भयो। शायद, प्रजातन्त्रलाई बुझ्ने आफ्नो यही मौलिक मान्यताका कारणले कुनै समय नेपाली काँग्रेसमा अत्यन्त सक्रिय रहनु भएका राजेश्वर जी पछि त्यो पुरानो पार्टीबाट अलग्गिनु भयो। नेपाली काँग्रेसको आलोचना गर्नु भयो। महेन्द्र नारायण निधीलाई उहाँले एक आदर्श मान्नु हुन्थ्यो, तर नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधीका बिरूद्ध उहाँ एक समय चुनावमा उम्मेदवार हुनु भयो। महेन्द्र नारायण निधीका पुत्रलाई पराजित गर्नका लागि। यस अघि अनेकन् प्रलोभनका बावजूद पञ्चायती व्यवस्थालाई उहाँले कहिल्यै प्रजातान्त्रिक मान्नु भएन। अन्ततः राजेश्वर नेपाली प्रजातन्त्रवादी मात्र रहनु भयो, पार्टी बिहीन प्रजातन्त्रवादी!

भाषा, भाषाका प्रति राजेश्वर जीको अत्यधिक लगाव तथा प्रेम रहेको थियो। उहाँ एकै पटक कयौं राष्ट्रिय भाषालाई साथ लिएर हिडन सक्ने सामर्थ्यवान मानिस पनि हो। नेपाली भाषामा उहाँले पत्रकारिता गर्नु भयो। साथै हिन्दी भाषामा पनि। नेपालमा नेपाली र हिन्दीको ‘द्विभाषिक’ पत्रिका निकाल्ने थोरै पत्रकारमा उहाँ पर्नु हुन्छ। राजेश्वर जी नेपालमा हिन्दी भाषा प्रचारको एक अभियन्ता नै हुनुहुन्थ्यो। कयौं पटक हिन्दी भाषाको उत्थानका लागि अन्तर्राष्ट्रिय स्तरको संगोष्ठी आयोजन गरिसक्नु भएको इतिहास छ। बिदेशमा आयोजित बिश्व हिन्दी सम्मेलनहरूमा नेपालबाट नेतृत्वदायी प्रतिनिधित्व गर्नु भयो। नेपाली प्रति सम्मान राख्दै हिन्दी मात्र नेपालका सबै समुदायका बीच सबल सम्पर्क भाषा हुन सक्नेमा उहाँ दृढ रहनु भयो।

इतिहास प्रति राजेश्वर जीको भिन्नै दृष्टिकोण रहेको थियो। एक टेलिभिजन साक्षात्कारमा उहाँ भन्नु हुन्छ, ‘इतिहासको चेतनाले मात्र वर्तमान पुस्ता सहि मार्ग दर्शन पाउँछन्।’ उहाँको बिचारमा नेपालमा प्रजातान्त्रिक आन्दोलनमा भएका बलिदानको अभिलेख छैन। जानाजान पनि अभिलेख राखिएन। अतितको बलिदानले वर्तमानको स्वेच्छाचारितामा अंकुश लगाउँछ। तर, यसका लागि वर्तमान पुस्तामा अतितको बलिदानको ज्ञान हुनु पर्दछ। उहाँले जनकपुर क्षेत्रमा भएको प्रजातान्त्रिक आन्दोलनमा शहादत भएका, योगदान दिएका, जेलनेल भोगेका कयौं पात्रहरूको संक्षिप्त जीवनीहरू लेखेर प्रकाशित गर्न भयो। कयौं महान सपुतहरूको जन्म जयन्ति आदिलाई धेरैले स्मरण न गरेपनि सोही दिन अखवारहरूमा प्रकाशित राजेश्वर जी को लेख वा संस्मरण तथा श्रद्धाञ्जलीहरूले ती बलिदानीहरूको स्मृति गराई रहेको हुन्थ्यो। वास्तवमा आफु स्वयम् इतिहासको एक पात्र रहेपनि राजेश्वर जी कयौंका इतिहासलाई मर्न दिनु भएन। यसैले मैले माथी लेखेको हुँ–राजेश्वर नेपाली जी एक समेकित व्यक्तित्व हुनुहुन्थ्यो। नेपाली इतिहासका एक पूर्व पात्र।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट