विवाहको १५ दिनमै प्रेमीसँग मिलेर पतिको हत्याः विवाहको उदेश्य नै सम्पत्ति कब्जा

काठमाडौँ– भारतको उत्तरप्रदेश स्थित औरैयामा ६ महिनाअघि भएको ढुवानी व्यवसायी दिलीप यादवको हत्या प्रकरणमा प्रहरीले उनकै श्रीमती र प्रेमीको संलग्न पुष्टि गरेको छ। प्रगति यादव प्रेमी अनुराग यादव तथा गिरोहका मुख्य अभियुक्तसहित ६ जनामाथि गैंगस्टार मुद्दा दर्ता भएको छ।
यस आपराधिक समूहले सुपारी लिएर हत्या र हत्या प्रयासजस्ता घटनाबाट धन आर्जन गर्ने काम गर्दै आएको प्रहरीले जनाएको छ। यस विषयमा सहार थानामा मुद्दा दर्ता गरिएको हो। अनुसन्धानमा हत्यामा मृतक दिलीपकी पत्नी नै संलग्न रहेको खुलासा भएको छ। उनले आफ्ना प्रेमीसँग मिलेर पति दिलीपको हत्या गराएको प्रहरी अनुसन्धानबाट प्रष्ट भएको छ।
सहार थाना इन्चार्ज पंकज मिश्रका अनुसार दिबियापुर थाना क्षेत्रको चमरौआ गाउँ निवासी दुर्लभ उर्फ पिन्टु यादव यस गिरोहको मुख्य अभियुक्त हुन्। गिरोहमा चमरौआकै शिवम यादव, फफून्दस्थित हजियापुरका अनुराग उर्फ बब्लु उर्फ मनोज यादव, अछल्दा प्रेमनगरका रामजी नागर उर्फ चौधरी, मैनपुरी भोगांव थाना अन्तर्गत नगला दीपा निवासी तर हाल फफून्दको सियापुर गाउँमा बस्ने प्रगति यादव (मृतक दिलीपकी पत्नी), र चमरौआकै रामु यादव सक्रिय सदस्यका रूपमा संलग्न छन्।
पुलिसका अनुसार गैंग लीडर सहित पाँच जना हाल जेलमा छन् भने आरोपी प्रधान रामु यादव जमानतमा बाहिर रहेका छन्।
के थियो घटना ?
मैनपुरीका हाइड्रा (ढुवानीका साधन) चालक दिलीपमाथि गत मार्चमा विवाह भएको १५ दिनमै सहार क्षेत्रमा पटना नहर पुल नजिक आक्रमण भएको थियो। उपचारको क्रममा उनको मृत्यु भयो।
घटनापछि केही दिनमै दिलीपकी पत्नी प्रगति यादव, उनको प्रेमी अनुराग यादव र शूटर रामजी नागर पक्राउ परेका थिए। सोधपुछमा प्रेमी अनुराग र प्रगतिले दिलीपलाई बाटोबाट हटाएर उनको सम्पत्ति कब्जा गर्ने योजनाअनुसार हत्या गराएको स्वीकार गरेका थिए।
त्यसपछि अनुरागका मौसेरा भाइ दुर्लभ यादव र शिवम यादव पनि पक्राउ परेका थिए। चमरौआका प्रधान रामु यादवले भने अदालतमा आत्मसमर्पण गरेका थिए। प्रहरीले यस प्रकरणमा अदालतमा चार्जशीट दर्ता गरिसकेको छ। हाल प्रेमी अनुराग, पत्नी प्रगति, दुर्लभ यादव र शिवम यादवको जमानत दरखास्त अदालतले खारेज गरिसकेको छ भने चमरौआका प्रधान रामु यादव जमानतमा बाहिर छन्।