आकस्मिक समयमा विषय बाहिर गएपछि सभामुखले माओवादी सांसद तामाङको माइक काटे

काठमाडौँ — प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामा तामाङले बोल्दै गरेको माईकको लाईन काटिदिएका छन्।

सांसद तामाङले आकस्मिक समयमा कर्णाली प्रदेशको विकास बजेट र सिस्नोपानी नेपालले प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा उठाइएका मुद्दाहरू जोड्न खोजेकी थिइन्। तर सभामुख घिमिरेले उनलाई ‘आकस्मिक समयको प्रयोजनअनुसार मात्र बोल्न’ आग्रह गरे।

तामाङले आफू विषयमै आइरहेको बताइन्। तर फेरि पनि सिस्नोपानी नेपालको कार्यक्रममा जोडिँदा सभामुखले माइक काटेर बस्न निर्देशन दिए। त्यसपछि उनले शून्य समयको कार्यसूची अघि बढाए।

यसअघि तामाङले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कडा कटाक्ष गरेकी थिइन्। उनले कर्णाली प्रदेशलाई बजेटमा बेवास्ता गरिएको आरोप लगाउँदै भनिन्, ‘सरकारले कर्णालीका सडक र पूर्वाधारमा बजेट छुट्याउँदैन। बजेट विनियोजन गर्दा झापालाई मात्र नेपाल ठानिन्छ, तर कर्णाली पनि नेपालकै भूगोल हो।’

उनले प्रधानमन्त्री ओलीले अधूरा तथ्यका आधारमा कर्णाली विकासबारे धारणा बनाउने गरेको भन्दै आलोचना गरिन्। साथै, प्रधानमन्त्री संसदमा नियमित उपस्थित हुनुपर्ने व्यवस्था मिलाउनुपर्ने मागसमेत राखिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट