सिरहा ७ का पूर्ववडाध्यक्ष उपेन्द्र साह ठगीको आरोपमा पक्राउ

सिरहा — सिरहा नगरपालिका–७ का पूर्ववडाध्यक्ष उपेन्द्र साह ठगी गरेको आरोपमा पक्राउ परेका छन्। उनलाई प्रहरीले भदौ १५ गते नियन्त्रणमा लिएको हो।
सिरहा–३ की शोभा मण्डलले साहमाथि ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन्। जाहेरीअनुसार मण्डलले साहलाई ३० लाख रुपैयाँ दिएकी थिइन्। त्यसबापत साहले ३० लाख रुपैयाँ बराबरको चेक तथा जग्गा धरौटीमा राखेका थिए।
तर केही समयपछि साहले मण्डललाई जानकारी नदिई उनको बैंक खाता कालोसूचीमा राख्न लगाइदिएका थिए। खाता कालोसूचीबाट हटाइदिने सर्तमा हरहिसाब गरेर ३५ लाख रुपैयाँ भएकोमा तत्काल १० लाख नगद र २५ लाख रुपैयाँको चेक दिएका थिए। तर, साहले बाचा पुरा गर्नुको साटो यसअघि दिएको ३० लाखको चेक र पछिल्लो २५ लाखको चेकसमेत प्रयोग गरी उल्टै अदालतमा मुद्दा दायर गरेर जग्गा हत्याउने प्रयास गरेको मण्डलको आरोप छ।
घटनापछि साहलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ। सिरहा जिल्ला अदालतबाट म्याद थपेर विस्तृत अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ।