पटनामा बिरामीको आँखामा दाँत पलाएपछि…

पटना — भारतको बिहारमा एउटा दुर्लभ चिकित्सा घटना बाहिर आएको छ। पटनास्थित इन्दिरा गान्धी इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (आईजीआईएमएस) का चिकित्सकहरूले ४२ वर्षीय बिरामीको आँखाबाट दाँत फालेर सफल शल्यक्रिया गरेका छन्।

गत अगस्ट ११ मा गरिएको शल्यक्रियापछि बिरामी अहिले पूर्ण रूपमा स्वस्थ रहेको अस्पतालले जनाएको छ। सिवान जिल्लाका रमेश कुमार (नाम परिवर्तन) नामक बिरामीलाई सुरुमा दाँतबाट रगत बग्ने समस्या थियो। स्थानीय डाक्टरमार्फत उपचारपछि उनले राहत पाए पनि केही महिनापछि पुनः असामान्य समस्या देखियो।

उनको दाहिने आँखा र गालाको बीचमा गाँठो बढ्दै गयो। दृष्टि धमिलो हुनुका साथै टाउको दुख्ने, चक्कर आउने र अत्यधिक थकाइ हुने लक्षण देखिएपछि रमेशले पटनास्थित आईजीआईएमएसमा परामर्श गरे।

अस्पतालमा गरिएको सीबीसीटी स्क्यान (कोन बीम कम्प्युटेड टोमोग्राफी) पछि चिकित्सकहरूले उनको दाहिने आँखामै दाँत उम्रिएको पत्ता लगाए। त्यसपछि म्याक्सिलोफेसियल, ओएमआर (ओरल मेडिसिन र रेडियोलोजी) र एनेस्थेसिया विभागका डाक्टरहरूले संयुक्त रूपमा शल्यक्रिया गरी दाँत निकाल्न सफल भए। यस क्रममा बिरामीको मुखभित्र चिरा बनाई १०–१२ वटा टाँका लगाइएको थियो।

आईजीआईएमएसकी ओएमआर विभाग प्रमुख डा. निम्मी सिंहका अनुसार यो ‘विकासात्मक विसंगति’ (डेभलपमेन्टल एनोमेली) हो। ‘शरीर र दाँतको विकासक्रममा कतिपयपटक दन्त संरचना असामान्य स्थानमा वृद्धि हुन्छ। यही कारण रमेशको आँखामा दाँत उम्रिएको हो,’ उनले भनिन्।

शल्यक्रियामा संलग्न म्याक्सिलोफेसियल सर्जन डा. प्रियंकर सिंहले पनि यो शरीरको असामान्य विकासको उदाहरण भएको बताए। उनका अनुसार गर्भावस्थादेखि नै दन्त संरचनाका अंशहरू शरीरका फरक स्थानमा पुगेर वृद्धि गर्न सक्छन्, जसको परिणाम स्वरूप यस्तो अनौठो घटना देखिन्छ।

अस्पतालले यो घटना चिकित्सा विज्ञानकै दुर्लभ केसमध्ये पर्ने समेत जनाएको छ। रमेश भने अहिले नियमित स्वास्थ्य परीक्षणमा रहेका र पूर्ण रूपमा सामान्य जीवनमा फर्किन थालेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट