बलात्कार आरोपी प्रिन्सिपलको आतंकः मिलापत्र गर्न नमानेपछि अफवाहको सहारा, पीडित परिवार असुरक्षित

बेल्टार (उदयपुर) — आफ्नै विद्यालयकी १४ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका उदयपुरको बेलका नगरपालिका–२, कञ्चनजंघास्थित हिमशिखर सामुदायिक इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल ४७ वर्षीय युवराज श्रेष्ठको आतंकका कारण पीडित परिवार गाउँमै असुरक्षित भएको छ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका अनुसार, गत शनिबार बिहान ट्युसनको नाममा विद्यालय बोलाई श्रेष्ठले विद्यालयकै कार्यालय कोठामा बालिकालाई बलात्कार गरेका थिए। छात्राकी भाउजूले दिएको जाहेरीका आधारमा आइतबार साँझ उनलाई पक्राउ गरिएको हो। अहिले उनी प्रहरी हिरासतमा छन्।

घटना बाहिरिएपछि पीडित परिवारलाई चुप लगाउन निरन्तर दबाब आइरहेको छ। प्रहरीसमक्ष जाहेरी दर्ता भइसकेपछि समेत आरोपी पक्षले गाउँमै आएर ‘आपसमा मिल्नु पर्छ, अरुलाई भन्नु हुँदैन। कानुनी प्रकृयामा गएपनि हामी पैसाले सवैलाई खरिद गर्छौ’ भन्दै धम्की र प्रलोभन दिइरहेको पीडित परिवारले आरोप लगाएको छ।

पीडितकी भाउजुका अनुसार, घटना भएकै दिन प्रिन्सिपल श्रेष्ठ मोटरसाइकलमा उनीहरूको घर पुगेका थिए। ‘पैसा चाहियो भने दिन्छु, मिलापत्र गरौँ’ भन्दै लोभ देखाएका उनले बताईन। मिलापत्र गर्न नमानेपछि पीडक पक्षका मान्छेहरूले गाउँभर ‘हामीले पैसा दिएर घट्ना मिलाईसक्यौं’ भन्दै हल्ला फैलाएको स्थानीयहरूले बताएका छन्।

एक स्थानीयले भने, ‘बालिकाले न्याय खोज्न सकेनन्, उल्टै गाउँमा उनीहरूलाई दोषी ठहर्‍याउने शैलीमा कुरा फैलाइएको छ।’ अर्की एक स्थानीयले महिलाले पनि पीडित परिवारलाई आरोपीले मानसिक तनाव दिएको वताईन। ‘उनीहरु गरिब र सोझा छन्। कानुनी प्रक्रिया बुझ्दैनन्। अब गाउँमा उल्टै बदनाम भइरहेका छन्, यो ठूलो अन्याय हो।’– उनले भनिन्। पीडित बालिका ४ दाजुभाइकी एक्ली बहिनी हुन्। आमा–बुबा कानुनी दाउपेच नबुझ्ने र दाजुभाइहरू पनि सोझा र मजदुरीमा व्यस्त हुने भएकाले परिवार अझ बढी असुरक्षित भएको छ।

बालिकाकी भाउजु भन्छिन्, ‘हामी प्रहरीमा गएका छौँ तर आरोपी पक्ष अझै मिलापत्र गर्न दबाब दिइरहेका छन्। गाउँमै पनि हेपाहा व्यवहार भइरहेको छ।’ उनका अनुसार, घटना योजनाबद्ध रुपमा भएको छ। ‘शनिबारको दिन भएकाले अन्य विद्यार्थीलाई दिउँसो १२ बजे बोलाइएको रहेछ। हाम्री नानीलाई चाहीँ बिहान १० बजे बोलाइएको थियो’ उनले भनिन्–‘त्यो समयमा विद्यालय खाली थियो, पुग्ने वित्तिकै समातेर धाकधम्की दिँदै कार्यालयमा लगेर कुकर्म गरेछन्।’

जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी राजन चापागाईंले घटनाबारे गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बताए। उनका अनुसार, जबरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरिएको छ र प्रमाण संकलन भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट