आज राति आकाशमा ‘ब्लड मुन’: खग्रास चन्द्रग्रहणले चन्द्रमा रातो देखिँदै

काठमाडौँ– आज (भदौ २२ गते) भाद्र शुक्ल पूर्णिमाका दिन लाग्ने खग्रास चन्द्रग्रहणका कारण राति आकाशमा चन्द्रमा रातो देखिने भएको छ । यो यस वर्ष २०८२ सालको पहिलो चन्द्रग्रहण हो।
खग्रास चन्द्रग्रहणका बेला चन्द्रमा पूर्णरूपमा पृथ्वीको छायामा पर्छ। पृथ्वीको वायुमण्डलले निलो प्रकाशलाई तितरबितर पारिदिने हुँदा चन्द्रमासम्म रातो प्रकाश मात्र पुग्छ। त्यसैले चन्द्रमा रातो रंगको देखिन्छ, जसलाई सामान्य भाषामा ‘ब्लड मुन’ भनिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज राति १० बजेर ११ मिनेटमा ग्रहण सुरु भएर राति १ बजेर ४१ मिनेटमा अन्त्य हुनेछ। मौसम सफा रहेमा काठमाडौंसहित नेपालभरिबाट करिब साढे तीन घण्टा यो खगोलीय दृश्य देख्न सकिनेछ।
यसै वर्ष फागुन शुक्ल पूर्णिमामा खण्डग्रास चन्द्रग्रहण पनि लाग्ने समितिले जनाएको छ। सामान्यतया चन्द्रग्रहण पूर्णिमामा र सूर्यग्रहण औंसी तिथिमा लाग्ने गर्छ।
ग्रहण कसरी लाग्छ ?
खगोलशास्त्रका अनुसार सूर्य, पृथ्वी र चन्द्रमा एउटै रेखामा आउँदा पृथ्वीको छायाँ चन्द्रमामा पर्छ र चन्द्रग्रहण लाग्छ। पृथ्वीको छायाले चन्द्रमालाई पूर्ण रूपमा ढाक्दा खग्रास चन्द्रग्रहण र आंशिक रूपमा ढाक्दा खण्डग्रास चन्द्रग्रहण हुन्छ।
त्यस्तै सूर्य र पृथ्वीको बीचमा चन्द्रमा पर्दा सूर्यको प्रकाश छेकिँदै पृथ्वीमा अँध्यारो हुने अवस्थालाई सूर्यग्रहण भनिन्छ। धार्मिक मान्यताअनुसार ग्रहणको समय अशुभ मानिन्छ। यस अवधिमा पूजापाठ, खाना खाने, हाँस्यव्यंग्य गर्ने वा सहबास गर्न नहुने विश्वास छ।
तर वैज्ञानिक दृष्टिले ग्रहणलाई प्राकृतिक घटना मानिन्छ। वैज्ञानिकहरूले यस्ता खगोलीय घटनालाई अध्ययन र अवलोकनमार्फत उपयोगी ज्ञान आर्जन गर्ने अवसरका रूपमा लिनुपर्ने सुझाव दिएका छन्।
विशेषज्ञहरूले ग्रहणलाई नाङ्गो आँखाले प्रत्यक्ष नहेरी उपयुक्त सुरक्षा उपाय अपनाएर मात्र अवलोकन गर्नुपर्नेमा जोड दिएका छन्।